March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

होली

कल्पना रिमाल
सूर्यविनायक- ६, भक्तपुर ।

‘होली’ हिन्दुहरूले मनाउने निक्कै रमाइलो पर्व हो । यस पर्वलाई फागु अथवा फगुवा पनि भनिन्छ । वसन्त ऋतुको आगमनसँगै विभिन्न रङका साथ खुसियाली साटासाट गरेर होली पर्व मनाइन्छ । 

फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने होलीसँग मुख्य दुई सन्दर्भ सम्बन्धित छन्  । तीमध्ये पहिलो सन्दर्भ दैत्यराज हिरण्यकशिपुका छोरा प्रह्लादसँग सम्बन्धित छ । हिरण्यकशिपु त्रेता युगका प्रसिद्ध दैत्यराज हुन् । उनी भगवान्‌का विरोधी थिए । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परम भक्त थिए । हिरण्यकशिपुले छोरा प्रह्लादलाई भगवान् विष्णुको भक्त नहुन धेरै सम्झाए तर पार लागेन । हिरण्यकशिपु भगवान्‌का समर्थकहरूलाई आफ्ना शत्रु सम्झन्थे । उनी आफ्ना सम्पूर्ण शत्रुको अन्त्य गर्न चाहन्थे । त्यसैले उनले आफ्ना छोरा प्रह्लादलाई पनि मार्न चाहेका थिए । उनले प्रह्लादलाई मार्न धेरै प्रयत्‍न गरे तर सकेनन् । 

हिरण्यकशिपुकी बहिनीको नाम होलिका हो । होलिकालाई आगाले जलाउन नसक्ने वरदान प्राप्त भएको थियो । त्यसैले हिरण्यकशिपुले प्रह्लादलाई मार्ने जिम्मा होलिकालाई दिए । होलिका बालक प्रह्लादलाई काखमा बोकेर दन्किरहेको आगामा बसिन् । तर सोचे जस्तो परिणाम आएन । प्रह्लादलाई केही भएन । बरु होलिका नै जलेर भस्म भइन् । होलिकालाई असत्य र प्रह्लादलाई सत्यका रूपमा लिने गरिन्छ । यही असत्यमाथि सत्यको जित भएको दिनका सम्झनामा होली पर्व मनाउने गरिन्छ ।

होलीसम्बन्धी अर्को सन्दर्भ भगवान् श्री- कृष्ण र पूतनासँग सम्बन्धित छ । कृष्णका मामा कंस हुन् । त्यस बेला कंसले आफ्नो शत्रु जन्मिएको जानकारी पाएका थिए । त्यसैले उनी त्यस बेला जन्मिएका सबै बालकलाई मार्न चाहन्थे । उनले पूतना नाम गरेकी एउटी राक्षसीलाई कृष्णको हत्याका लागि खटाए । पूतना कृष्णकी आमाका रूपमा बालक कृष्ण भएका ठाउँमा पुगिन् । उनले आफ्ना स्तनमा विष दलेर बालक कृष्णलाई खुवाउन थालिन् । तर विषले भगवान् कृष्णलाई कुनै नराम्रो असर गरेन । बरु पूतनाकै ज्या‍न गयो । यसरी भगवान् श्री कृष्णले राक्षसी पूतनाको बध गरेको खुसियालीमा गोपालहरूले जयजयकार गर्दै उत्सव मनाए; रङ छ्यापाछ्याप गरे । यही उत्सवको सम्झनामा आजसम्म होली मनाउने गरिन्छ ।

होलीमा विभिन्न रङको प्रयोग गरिन्छ । ती सबै रङले विशेष अर्थ र महत्त्व बोकेका हुन्छन् । त्यसमध्ये नीलो रङले मानवता र धैर्यलाई बुझाउँछ । पहेंलो रङ भगवान् श्री कृष्णको प्रिय मानिन्छ । रातो रङलाई सौभाग्यको सूचकका रूपमा लिइन्छ । यसरी रातो, पहेँलो र नीलो रङ प्रयोग गरी होली खेल्नुको अर्थ धैर्य, मानवता र सौभाग्यले भरिपूर्ण हुनुका साथै भगवान्‌को प्रिय हुनु पनि हो । यसलाई भागवान्‌मा भक्ति राखी मावता र धैर्यका साथ होली खेले सौभाग्य प्राप्त हुन्छ भनेर बुझ्‍न पनि सकिन्छ ।

वसन्त ऋतुको आगमनसँगै रङ खेलेर मनाइने होलीलाई रङहरूको चाड पनि भनिन्छ । यस चाडमा एकअर्कालाई रङ दलेर शुभकामना आदान प्रदान गरिन्छ । 

काठमाडौँ उपत्यकामा होली विशेष रूपमा मनाइन्छ । फाल्गुण शुक्ल अष्टमीका दिन वसन्तपुर दरबारअगाडि चीर गाडेपछि होली पर्व सुरु हुन्छ । चीर भनेको एक प्रकारको लिङ्‍गो हो । फाल्गुण पूर्णिमाका राति उक्त चीरलाई टुँडिखेलमा लगेर जलाइन्छ । त्यसपछि होली पर्व समाप्त भएको मानिन्छ । चीरको खरानी शुभ मानी घरघरमा लग्‍‍ने चलन पनि छ ।

पुरानो रिसिबी पनि बिर्साउने होली पर्वले बालक, युवा र वृद्धहरूमा पनि खुसीको वहार ल्याउँछ । यस चाडले सबैमा आत्मीय सम्बन्ध स्थापित गर्ने विश्वास गरिन्छ । 

नेपालका सबै क्षेत्रमा थोरबहुत रूपमा होली मनाउने चलन छ । त्यसमा पनि पहाडी क्षेत्रमा अगिल्लो र तराई क्षेत्रमा पछिल्लो दिन होली मनाइन्छ । 

यसरी हर्ष र उल्लासको पर्वका रूपमा मनाइने होलीमा पछिल्ला दिन केही विकृति देखिन थालेका छन् । त्यस्ता कुरामा हामी समयमै सचेत नहुने हो भने हाम्रो संस्कृति र पहिचान नै सङ्‍कटमा पर्ने सम्भावना देखिन्छ । त्यसैले सारा विकृति र विभेदहरू बिर्सिएर हर्षोल्लासका साथ होली मनाऔँ भन्ने कामनाका साथ सम्पूर्णमा होली पर्वको शुभकामना अर्पण गर्दछु ।