नेवारी संस्कृतिमा विवाह
नेपालभरिका संस्कृतिमध्ये एक हो नेवारी संस्कृति । नेवारी घरमा जन्म लिन पाउनु भाग्य को कुरा हो किनभने नेवारी परिवारमा सबैभन्दा धेरै चाडपर्व हुन्छन् । ती पारिवारिक मेलमिलात र सरसहयोगका साथ धेरै रामाइलो गरी मनाइन्छन् । धेरै नेवारी संस्कृतिमध्ये विवाहसँग सम्बन्धित संस्कृति निकै रोचक छ । नेवारका छोरीहरूको तीन पटक विवाह गर्ने चलन छ ।
नेवारी चेलीबेटीका तीनमध्ये पहिलो विवाह बेलसँग गरिन्छ । बेल एक प्रकारको फल हो । बेलविवाह पहिलेदेखि चलिआएको परम्परा हो । बेलविवाहलाई नेवारी भाषामा ‘इही’ भनिन्छ । देवताको प्रतीक मानी साना नानीहरूलाई बेलको फलसँग विवाह गरिने यो प्रसङ्ग निकै रोचक छ ।
पहिले नेवारी समाजमा बालविवाह एकदमै प्रचलित थियो । बालविवाह गरिएका धेरैजसो बालबालिकाको बालापन नै गएको हुँदैनथियो । बालविवाह गरेपछि श्रीमान्को मृत्यु भएमा बालिकाहरू विधवा हुन्थे । चेलीबेटी विधवा नहुन् भनेर बेलविवाह गर्ने चलन चलेको हो । बेलसँग पहिलो विवाह गरेपछि बेल सधैँ जिउँदो हुने हुनाले चेलीबेटीहरू कहिल्यै विधवा नहुने भए ।
नेवारी संस्कृतिअनुसार छदेखि नौ वर्षबिचका र मिहानावारी नभएका बालिकाहरूको इही अर्थात् बेलविवाह गर्ने चलन अहिले पनि छ । इहीको कार्य सम्पन्न गर्न लगभग दुई दिनको समय लाग्छ । यस क्रममा विवाह हुने बेललाई विष्णु भगवान्का रूपमा लिइन्छ। कन्याका बुबाले सुवर्ण कुमार विष्णुका हातमा कन्यादान दिइन्छन् । यसरी नेवार चेलीको पहिलो विवाह सम्पन्न हुन्छ ।
नेवारी संस्कृतिमा चेलीबेटीको दोस्रो विवाह सूर्यसँग गरिन्छ । यस संस्कृतिलाई गुफा भनिन्छ । यो सांस्कृतिक कार्य सम्पन्न गर्न बाह्र दिन लाग्छ । बालिकालाई गुफामा छिराउनुअघि चन्द्रमाको दर्शन गराई सगुनका रूपमा दही चिउरा खुवाइन्छ । त्यसपछि पूजाआजा गरी सूर्यको किरण नपर्ने गरी छोपिएको कोठामा १२ दिनका लागि राखिन्छ । चार दिनसम्म गुफामा बस्ने केटीलाई नुन र तेल खुवाइँदैन । चार दिनसम्म चाकु र भात मात्र खुवाइन्छ । चौथो दिनमा मुखमा कवं अर्थात् बुकुवा दलेपछि नुन खान दिइन्छ । गुफामा राखिएका बेलामा केटा मान्छे भेट्न वा हेर्नसमेत पाइँदैन । यस बेला परिवारका सबै महिलाहरू गुफा कोठामा भेला भई रमाइलो गर्दछन् । बाह्रौँ दिन पूरा भएपछि गुफामा राखिएका कन्यालाई सूर्य देवताको दर्शन र पूजाआजा गराइन्छ । त्यसपछि आफ्ना बुबाको अनुहार देखाइन्छ । यसरी नेवार कन्याको दोस्रो अर्थात् सूर्य विवाह सम्पन्न गरिन्छ ।
कन्यालाई गुफा राख्नुको एउटा उद्देश्य उनीहरू कुनै पनि प्रकारको कुलतमा नलागुन् भन्नु हो । कन्यालाई आफू ठुलो भएको स्मरण गराउने उद्देश्यले पनि गुफा राखिन्छ । यसैगरी कन्यालाई जस्तोसुकै परिस्थतिमा पनि लड्न सक्ने बनाउनु पनि गुफा राख्नुको अर्को उद्देश्य हो ।
तेस्रो विवाह केटासँग गरिन्छ । यो अन्य जातजातिको जस्तै विवाह पद्धति हो । यस विवाहमा गुफा राख्दा दिइएका ऐना र सिन्दुर दिइन्छ । मामाले भान्जीलाई बोकेर कन्यादान गरिन्छ।
यसरी नेवारी संस्कृतिमा विवाह संस्कृति एकदमै रोचक संस्कृतिका रूपमा रहेको छ । तीन पटक विवाह गर्ने नेवार नारीहरू आफ्नो मानव श्रीमान् बित्दा पनि सूर्य र बेल जीवित नै हुने विश्वास गर्छन् । त्यसैले नेवार नारीहरू विधवा हुँदा पनि सिन्दुर लागाउन पाउँछन् ।
लेखकको सम्वन्धमा