December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

भेट एक : अनुभूति अनेक

“यु आर द चोजन वान” कुनै समय चीनको उत्तरपूर्वमा रहँदा संवादमा चिनियाँ लेखिकाले यसै भनेकी थिइन् । मैले खास केही पनि बुझेको थिइनँ । त्यसको अर्थ के थियो वा त्यो वाक्यको आशय के थियो, त्यस समय मैले खास जान्न पनि खोजिनँ ! तर, आज म चीनको दक्षिणपश्चिममा छु । साँझ चिया पकाउँदै थिएँ । यसैबेला लेखिका भान्सामा आइपुगिन् । मनमा कुरो खेल्दै थियो अनि मैले मेरो जिज्ञासा् उनीसामु राखेँं, “मलाई त्यो बेला मनबाट नै आयो, मैले सोचेर भनेको होइन !” उनले यसै भनिन् ! “भनेपछि म “छानिएको” पात्र हुँ?” मैले यसै भनें । मन त बडो चञ्चल छ। केका लागि छानिएँ होला यो जीवनमा? यात्रा? अध्ययन? राजनीति? यसै सोचेँ !

साइबेरियन चरो जाडो छल्न उत्तरपूर्वदेखि ठ्याक्कै दक्षिणपश्चिम आउने सौभाग्य पाउँछ । यो सौभाग्य कसरी जुर्‍यो भनेर बुझ्न एकपटक पछाडी फर्केर हेर्नु पर्ने हुन्छ । सेप्टेम्बर ५ मा जीवनको एक यस्तै अद्भुत भेटले मोड लिन्छ । म वेइबोमा (चिनियाँ ट्विटर भर्जन) हेलम्बु र मेलम्ची सम्बन्धी केही समाचार वा लेख होलान् कि भनेर खोज्न पुग्छु । वेइबो नखोलेको लामै समय भएको थियो । यसैले कोरोना कालपछि अध्ययनलाई पुनश्च सुरु गर्ने अवसर पाएसँगै मेरो चीन यात्राले गति पाउँछ । कोरोना कालको क्वारेन्टाइन सकेर च्यामुसी आएपछि आफ्नै डर्ममा फर्किसकेको समयपछि वेइबोमा मैले हेलम्बु गएका २ चिनियाँ भेट्छु । त्यहाँमध्ये यिनै लेखिका फङ्ग थाङ्गको (निया भ्याली) हेलम्बुका बारेमा पोस्ट भेट्छु । अनि म पनि हेलम्बुको हुँ भनेर प्रतिक्रिया लेख्छु । केही घण्टापछि प्रतिक्रिया फर्किन्छन् र विच्याटमा हामी जोडिन्छौं !

संवाद हुँदै गयो ! लेखिकासँग परिचय झाँगियो । यसपछि हामीले फुर्सदका समय लेखहरू अनुवाद गर्न थाल्यौं । उनले चिनियाँ ब्लगमा मेरा केही लेख अनुवाद गरेर पोस्ट्याइन् । त्यो एक गज्जबको अनुभूति भयो । यसबाहेक पनि हेलम्बुलगायत बज्रयान बौद्ध धर्मका केही लेखहरू अनुवाद गरियो । यसैबिच संवादमा कुनै एकदिन “उत्तरपूर्वी ठाउँमा बिदा लामो हुन्छ होला, युनान तिमीलाई स्वागत गर्छ । पछि तिमीसँग नेपाल जाउँला ।”  उनले यसो भनेपछि मन फुरुङ्ग भयो ! म दङ्ग थिएँ। तर विश्वस्त थिइनँ । म बसेको ठाउँ च्यामुसी तत् समय कोरोनाले आक्रन्त थियो । लक्डाउन थियो । झिनो आशा राखेको थिएँ । परीक्षा सकियो, बिदा पनि भयो । अनि आफ्नो रेस्पोन्सिबल टिचरसँग सानो आशासहित आफ्ना कुरा राखेँ ! ‘केही दिनपछि आऊ’ भन्नुभो। अनि गएँ। जान मिल्ने कुरो आयो । तर त्यसका लागि मिटिङ कुर्नपर्ने भयो । मलाई भने टिकट महङ्गिने भो, र जान पाइने बारे ढुक्क थिइनँ ।

ठ्याक्कै मिटिङ्ङ बसेपछि टिचरले टिकट काट्ने अनुभूति दिनुभयो । यता लेखिकासँग टिचरको कुरो गराएँ । टिचर ढुक्क भए र पठाउने भए । टिकट काटियो, यता कोरोना सकिएको थिएन । प्रत्येक दिनजसो कोरोना टेस्ट गर्न जान्थेँ । कर्म भन्ने कि केवल संयोग मात्रै भन्ने त्यसैसमय चीन यात्रा गर्न अब कोभिड टेस्ट गर्न नपर्ने भयो भन्ने समाचार आइपुग्यो । मसँग खास त्यस्तो गहन परिभाषा केही छैन तर जेजति र जसरी यात्रा जुर्‍यो, यो मेरो जीवनकै अद्भुत घटनामध्येको हो भन्ने कुरोमा सन्देह छैन । च्यामुसीदेखि साङ्गहाई हुँदै लिचियाङ्गसम्मको यात्रा जीवन यात्राको एक अद्भुत यात्रा नै हो। यात्राको दुईदिनअघि मेस्सीलाई फाइनल यात्रा जिताएर हिँड्न पाए यात्रा भव्य हुन्थ्यो भन्ने मनोभावना उत्तिकै तेजमा थियो।

म पहाड देख्ता लोभिने मान्छे, पहाडसँग लोभिनेहरूसँह संवाद गर्न रुचाउने मान्छे, म मेरो गाउँ घुम्न आऊ भनेर निम्तो दिने मान्छे, म आफैं निम्तिन पाउँदा दङ्ग नपरूँ पनि कसरी? कौतूहलले भरिएको यात्री भएर च्यामुसीबाट जाडो छल्न नेपाल निस्किएको साइबेरियन चरोझैं अनुभूति गरें । यो एक बेजोडको क्षण थियो । आफ्नै माटामा मैले यस्ता धेरै भेटहरूसँग मितेरी गाँसिसकेको थिएँ । एकपल्ट घरभन्दा पर अझ साइनो गाँस्न आतुर थिएँ । १०८ औं दिनमा जुरेको यो ‘बेयुल’ यात्रा जीवनको एक अद्भुत यात्रा थियो भने त जीवन सम्झना गरिने छ । तालीको आकाश र पहाडबिच मितेरी साइनो गाँस्ने बादल बनेर हिँड्ने मै यात्रीलाई लेखिकाले भनिन्, “यो तिम्रै घर हो, तिम्रै आँगन हो । मैले त तिमी विदेशी हो भन्ने पनि बिर्सिसके छु।” भेटमा लेखिकाले यसै भनिन्।

डिसेम्बर २० मा च्यामुसीबाट उडेर डिसेम्बर २१ मा लिचियाङ्ग आइपुगेर सुरू भएको युनान यात्राको दुई महिने यात्रालाई फेब्रुअरी २१ बाट बिट मारिँदै छ। र, यो यात्रा यत्तिकै सम्भव थिएन । हवाईयात्राबाट म आइपुगेको ठाउँ ३,५०० किमीभन्दा परको दूरीमा छ । अझ उत्तरपूर्व बस्ने मान्छे दक्षिणपश्चिम यसरी आइपुग्ला भन्ने त सपना त के कल्पनामा पनि थिएन । “हामी पूर्वजन्मको कर्म र भाग्यले भेटेका…” उनले यसै भनेकी थिइन् । उनले लगाएका गुनहरूप्रति कृतज्ञ हुँदै मैले प्रतियुत्तरमा ठ्ट्टा गरें, “हुनसक्छ तपाईं मेरो दरबारमा आउँदा, मैले चौरासी व्यन्जन खुवाएको हुनुपर्छ…।” यिनै चिनियाँ लेखिकासँग चिनियाँ ट्विटर अर्थात् वेइबोबाट २०२२ सेप्टेम्बर ५ मा जोडिएर एक अद्भुत यात्राको सिलसिलामा हिँड्ने सौभाग्य पाएँ । उनीप्रति म जीवन जीवन ऋणी हुने छु।

“हेलम्बु मेरो पूर्वजन्मको घर हो !” पाइ तु अर्थात् चिनियाँ गुगल भनेर चिनिने एप्समा काम गरेकी नेपालप्रेमी लेखिकाले नेपाललाई चिनियाँमाझ चिनाउन अहम भूमिका खेलेकी छिन् । लोन्लीप्लानेटको चिनियाँ भर्जनको नेपाली पाटोलाई मुख्य सम्पादन उनैले गरिकी थिइन् । “मुख्य सम्पादनको काम सजिलो थिएन । नेपालबारे जान्नुपर्ने हुन्थ्यो । त्यसअघि म नेपाल पुगिसकेको हुनाले पनि मलाई सजिलो भयो । र, मुख्य कुरो नेपालसँग मेरो साइनो गाँसिएको छ, कनेक्सन छ…!” उनीले यसो भन्दै गर्दा म ध्यानमग्न सुनिरहेँ । उनको नेपालप्रेमले गद्गद भएँ ।

हेलम्बु बसाईको क्रममा उनी दुई महिना नाकोते गाउँमा बसेकी थिइन् । उनी आफू संयोगले त्यहाँ पुगेको थिएँ भन्न रुचाउँछिन्, “मलाई भाग्यले त्यहाँसम्म लग्यो । मेरा लागि त्यो ठाउँ भुटानको लुनाना जस्तै थियो । नाकोतेले मलाई धेरै कुरो सिकायो । साधरण जीवन आफैंमा कति भव्य हुन्छ भनेर सिकायो । मैले जीवनमा पहिलोपल्ट बाहिर धारामा आएर लुगा धोएँ । सीमित तरकारीमा चित्त बुझाएँ, हातले खान सिकेँ, सबैभन्दा बढी नेपाली दालभात तरकारी मनपराएँ । हँसिला र दयालु नेपालीहरूले मेरो नेपाल बसाइँ सुन्दर बनाएा ।” हेलम्बु कसरी पुगेको भन्ने जिज्ञासामा उनले यसै भनिन्।

उनको घरमा नेपालबाट ल्याएका हस्तकलाका सामानहरू छन् । नेपाली सिक्न नेपाली अभ्यास किताब छन्, हिमाल र नेपालसम्बन्धी पढेका किताबहरू छन् । नेपाल भन्नेबित्तिकै उनमा अन्तर्मनदेखि नै श्रद्धा छ भनेर बुझ्न कत्ति समय पनि लागेन । र, नेपालको पनि हेलम्बु त उनीका लागि दोस्रो घर नै भयो । हेलम्बु, गुरु पद्मसम्भव, र बौद्ध दर्शनबारे धेरथोर जानकारी राख्ने उनीलाई मैले मिलारेपालगायत अन्यबारे बताएँ, हिन्दू र बौद्धको साइनो र सम्बन्ध बताएँ, खस र मस्टो बारे उनको जिज्ञासामा आफूले जानेका कुरा बताएँ । भेटमा उनलाई नेपाली झन्डा, थाङ्का, र नेपालदेखि लगेको बुद्ध र गणेशको मूर्ति उपहार दिएँ । उनीभित्र खुसीको लहर प्रस्ट पढ्न सकिन्थ्यो ।

“मलाई बिपनाचाहिँ सपना र सपनाचाहिँ बिपना लागेको छ।” युबङ्ग यात्राबाट ताली फर्किसकेपछि बिहान नेपाली च्यापत्ती हालेर चिया बनाउँदै गर्दा भान्सामा लेखिकाले यसै भनिन् । मसँग भन्नलाई केही थिएन । म त अझ सपना र बिपनाको दोभानमा थिएँ, कतै बिपना सत्य र कतै सपना सत्य भएको एक भिन्न अवस्थामा विचरण गर्दै थिएँ । जीवनमा अनगिन्ती भेटहरू गरेँ मैले । भेटहरूमा उत्साह र उमङ्ग भेट्ने मानिस हुँ म, मानिसहरूबिचका सुन्दर भेटहरूमा हराउने पात्र हुँ म । लेखिकासँगको भेट जीवनमा बडो अद्भुत तरिकाले जुरेका केही भेटमध्येको एक हो भन्न रूचाउँछु । संसार चक्रका हरपात्रहरू भिन्न छन् । मैले यस्तो समयमा यिनी पात्रको दर्शन पाएँ कि म यो ३ साल चीन बसाइँ अध्ययनबाहेक अन्य यात्रा कसरी पूरा गर्छु होला भन्नेमा थिएँ । पढ्न आएको छु तर आमा, घर र माटोको यादले मलाई चञ्चल बनाइरहन्छ, म अन्य जस्तै ‘स्थिर’ रहिरहिनँ यस मामिलामा !

‘कर्म गर तर फल तिम्रो अधीनमा छैन !’ यो गीतावाणी सदा मस्तिष्कमा बसेको छ । म आफ्नै कर्ममा रहें, र चिन्तन, कर्म र यात्रामा एक यस्तो पात्रको प्रवेश मेरो जीवनमा भयो, म अचम्मित मात्रै होइन, म मेरो सपनाप्रति झन् बलियो भएर उभिन प्रेरित भए ! १३ वर्षअगाडि हेलम्बुको माटोमा आफूलाई भेट्ने यी कर्म यात्री र साधकसँग जुरेको भेटलाई मैले सामान्य मात्रै मान्नै सकिनँ ! मिलन-विछोड सांसारिक नियम नै हो, तर जीवनमा निक्कै कम भेट र विछोडहरूले मात्रै फरक पार्छ्न् । हो मलाई यी पात्रसँगको भेट जीवनकै अद्भुत भेट हो भन्न कुनै आइतबार छैन । फेरि यस्तै भेट अन्य पात्रसँग जुर्ला नजुर्ला यसै भन्न सकिन्न ! खास आस गरेर यो भेट कहाँ जुरेको हो र ? यिनको साधारण र कर्मशील जीवन, विशाल र दयालु मन अनि हरदृष्टिमा करुणाभाव भेट्दा र यी भावहरूको हिमालय दर्शन पाउँदा म साँच्चै कृतज्ञ छु।

‘मान्ठ’ शब्दलाई कुनै बेला पैलोपल्ट सुन्दा, पढ्दा बडो अचम्म र प्रिय लागेको थियो ! हुन त ‘रहस्य’ माने चकित होइने, नमाने चकित नहोइने ! तर पनि केही शब्द हुन्छन् जसको पहिलो सुनाइले नै मनमा एकखाले ऊर्जा दिन्छन् । पृथक् लाग्छ, आफ्नै लाग्छ; जस्तै यात्रा एक यस्तै प्रिय शब्द छ तर अन्य शब्द मिठा लाग्दैनन् होइन, अन्य शब्दले नै तिनको मिठासमा रङ भरेका छन् ! केन्द्रात्मक किन नदेखियूँ तर नेपथ्यसँग पनि उत्तिकै प्रेम र श्रद्धाभाव छ । प्रकृतिलाई जत्तिकै म मान्ठहरूलाई पनि प्रेम गर्छु, म सद्भाव राख्छु, अझ केही सम्बन्धहरूले त मलाई बडो रहस्यको भुमरीमा जाकिदिन्छ; म निक्कै पछिसम्म त्यहीँ हुन्छु !

संसार-निर्वाण भन्नु जस्तै वा दुई ध्रुव, पौरुष-प्रकृति जस्तै, जसरी बुझे पनि भो, तर नबुझे पनि ठिक, आखिर सप्पै कुरो बुझ्नकै निमित्त कहाँ हुन्छन् र ? दुई ध्रुवहरू मध्यमार्गमा केन्द्रित भएजस्तै, शक्ति र प्रकृति उपासक एक भएजस्तै ! केही हुन्छन्, जसलाई नबुझे पनि ठिकै छ। जीवनका असली कर्म के त ? स्वकर्म जाने, बुझे पुग्ला? नबुझे पनि चल्ला ! सप्पै बुझेर पनि के साध्य ? चाहिने जति बुझे भयो, चासो राखे भयो कि कसो ? यस्तो लाग्छ सबै बुझूँ, वा बुझेको कुरोलाई बुझ्दछु भन्ने भ्रम हुनु पनि मज्जा छ, आखिर बुझ्नु त के छ र- ज्ञानीहरू त श्रीकृष्ण रहेछन् एक भनी बुझ्नु, बुद्धवाणी बुझ्नु भन्छन् । खैर, यात्राले सप्पै कुरो पढाउला, माझिएर बसेको जति बुझिएछ भनेर जगत् मिथ्यमै रमाउँला !

तर यसरी घोत्लिँदाघोत्लिँदै आफूअगाडि उभिएको पहाडसँगै सुन्दर काठका गोलचक्करहरूमा अङ्‌कित चन्द्रसूर्यले पाएको यो मौलिक कला र रङ त गज्जब देखिएकै छन् । अब चन्द्रसूर्यमध्ये मैले मेरो नामकै उपहार पाएँ । स्वयम् ‘बेयुल’ नै एक उपहार, बाँकी त हुँदा पनि ठिक, नहुँदा पनि ठिक होइन र ? ‘बेयुल’ की साक्षी खाण्ड्रो वा माण्डर्व वा डाकिनीको आशीर्वाद र उपहार मानियो, जीवन यात्राको असली गुरु मानियो; द्विविधा भावहरूमा यिनै गुरुको सम्झना गरिने छ । जीवनलाई गुरु चाहिन्छ । गुरुको प्रवेश बडो पृथक् ढङ्गले हुनु अनि मनले अनुभुत अनुभव गर्नु, त्यो नै शक्ति ! आशीर्वाद आफैंमा शक्ति; माण्डर्व-डाकिनीबाट दीक्षित रिम्पोछेजस्तै अनुभूति गरियो ! रूपहरू बद्लिन सक्छन् नि ? तर मनमस्तिष्क,  तिनका ज्ञान, तिनका दयासागर, तिनका करुणभावहरूमा बिलीन हुन पनि सक्छ । समयपात्रको आगतमा यो सुन्दर आयाम थप्न वा दीपाकाशमा बिम्ब थप्न अग्रसर यो हिमाली मनप्रति कृतज्ञ नहोस् पनि कसरी ?

कर्म थियो वा संयोग थियो भन्ने प्रश्नहरू तेर्सिन्छन् । जीवन यात्रामा संयोगले वा कर्मले जसरी भेटियुन्, ती हरमान्ठहरूले मेरो जीवन रङ्गाएका छन्; तीमध्येका केहीले मेरो जीवन रोपेका छन्, केहीले मलजल गरेका छन्, केहीले गोडमेल, केहीले अप्ठेरामा सघाएका छन्, यो ‘गुन’ त मैले सायदै तिर्न सकुँला, तर यो हार्दिकताले मलाई सदा प्रेरणा भरेको छ, म शून्य भएको छु, म शब्दविहीन भएको छु । धन्यवाद कसरी भनूँ ? वा साधुवाद कसरी भनूँ ? केवल यिनै केही सीमित शब्दले म अहोभाव र धन्यता प्रकट गर्छु, कृतज्ञ हुन्छु, समयले ‘महादेव’ ले अरू के गर्न सक्छ र ? यो यात्राको कठिनाइ जत्तिसुकै तितो किन नदेखियोस्, एउटा अर्को पाटो रश्मियुक्त छ। देउराली जस्तै जीवन छ, कैले हिमाल जस्तै । यस्तो लाग्छ; यो ब्रह्माण्डको हरअंशले रङ्गिएको छु, ती हरअवस्थाहरू दीप भूगोल भित्रै छन् ! यो भेट रहरले भएको होइन, न देखेर, न कसैको आडमा !  र, यो युनान यात्रामा जुन सप्रेम र सद्भाव लेखिका र उनको परिवारबाट पाइयो, म जीवन जीवन ऋणी छु।

“दया र करूणाले भरिएको हृदय भन्दा ठूलो सम्पत्ति अर्को केही छैन।” लेखिकाले मलाई सिकाएको पाठ यही थियो । अनेकन देश घुमेर, प्रतिष्ठित संस्थामा काम गरिसकेर, भव्य जीवन बाँचेर पनि उनीभित्रको सिम्प्लिसिटीले मलाई भव्य तान्यो ! शान्त, सदा हँसिलो  अनि ऊर्जा भरिरहने लेखिकाले मलाई लगाएको गुनको म कुनै पनि शब्दमा बखान गर्न सक्दिनँ ! “तिमीसँगको भेट जीवनको एक मात्र दुर्लभ भेट हो । तिमी राम्रो गर्नु, तिमीले फर्केर तिम्रो माटोमा तिमीले योगदान दिनुछ । तिम्रो बालाई सपनमा देखेको थिएँ । म त्यो समय भावुक भएँ । तिमीलाई गार्‍हो सार्हो पर्दा एक्लो महसुस नगर्नू ।” उनले मलाई यसै भनेर आशीर्वचन दिइन् । साधुवाद।