February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

मलाई माफ गर्नुस् है आमा

निरजकुमार साह
(प्रेम सागर)

मलाई माफ गर्नुस् है, आमा!
अस्ति फूलमाला लगाई गएको म
आज कात्रोमा बेरिएर फर्किएछु
अस्ति प्लेन चढी उडेको म
आज बाकसमा बन्द भई फर्कि छु
मलाई माफ गर्नुस् है, आमा !

मलाई माफ गर्नुस् है, आमा!
खुसी किन्न प्रदेश गएको म
आँसु किनी फर्केछु
हाँसो खोज्‍न गएको म
जीवन गुमाई फर्केछु
मलाई माफ गर्नुस् है, आमा!

मलाई माफ गर्नुस् है, आमा!
पैसा टिप्‍न रुख चढेको म
चिप्लिएर मरेछु
साहुको ऋण तिर्न घर छाडेको म
तपाईंको छोरा गुमाई फर्केछु।
मलाई माफ गर्नुस् है, आमा!