April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आमा

श्रीया खत्री
श्री मनोहरा आधारभूत विद्यालय

नौ नौ महिना कोखमा राख्यौ आमा
तिमीलाई कति गाह्रो भयो होला
जन्मायौ तिमीले कठिनाइ सहेर आमा
कति धेरै पीडा भयो होला ।

दश धारा दुध चुसायौ आमा
आफूलाई खाना थिएन होला
शिशुलाई मात्र स्याहार दियौ
आमा तिमीलाई स्याहार थिएन होला ।

भुलायौ तिमीले भुलुङ्गामा आमा
तिमीलाई सुत्न विस्तारा थिएन होला
कोखाई कोखाई गरी लिटो खुवायौ आमा
तिमीलाई कति भोक लागेको थियो होला ।

शिशुलाई तातो तेल लगाइदियौ आमा
तिमीले लगाउने तातो वस्त्र थिएन होला
स्याहार गरी शिशुको शरीर दह्रो बनायौ
आमा तिम्रो शरीर कति कमजोर भयो होला ।

हुर्कउन तिमीले धेरै मेलापात गर्‍यौ आमा
तिमी कति बिरामी भयौ होला
शिशुलाई निरोगी राख्यौ आमा
आफू कति रोगी भयौ होला ।

विद्यालय पठायौ तिमीले कति काम गरी आमा
सानामा तिमीले पढ्न पाइनौ होला
नयाँ खेलौना र नाना किनिदियौ आमा
तिमीले सानामा फाटेका कपडा लायौ होला ।

हामीलाई लक्ष्यमा टेकायौ आमा
आफ्नो भविष्य हेरिनौ यहाँ
ठुला हुन्छन् शिशु पनि आमा
तिमी पाल्छन् कि भन्ने आशामा बस्छ्यौ यहाँ ।