February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

विद्यार्थी जीवन

टेरिजा घिमिरे
कक्षा ९ ,मेधा मावि भक्तपुर

कठिन र लामो समय पाठशालामा बिताउने
महान् पुरुषार्थ भएका पुरुषार्थी हुन् विद्यार्थी
आफूमा ज्ञान भर्दै अज्ञानीसम्म फैल्याउने
ज्ञानका पुञ्ज अनि अँध्याराका फूलझडी हुन् विद्यार्थी ।

पढी लेखी ज्ञानी भई बढ्छन् विद्यार्थी अघि
बढाउँछन् देशको सान प्रगतिको चुचुरोमा पुगी 
नम्रता नै धन बनोस् शिक्षा हो उसको पूर्वाधार
कर्तव्यलाई बुझ्न सकुन्, बनुन् देशको कर्णधार ।

क्लासवर्क, होमवर्क, परीक्षा भनी बिताउँछन् वर्ष
साथी, शिक्षक र परिवार मिली बढाउँछन् हर्ष  
कलिला यी हातमा कलमले उठाउँछ ठेला
हेर कति कठिन छ नगरौँ है विद्यार्थीलाई हेला ।

भोलिका डाक्टर, पाइलट यिनै, राजनेता नि यिनै
देशको नक्सा कोर्दै स्वरूप फेर्ने पनि यिनै
बाधा अड्चन छिचोल्दै सधैँ अघि बढ्छन्
राष्ट्रको अस्तित्व जोगाउन हरपल अघि सर्छन् ।

सबैभन्दा अनमोल हाम्रो यो विद्यार्थी जीवन
कलिलो यो मस्तिष्क अनि स्वच्छ निर्मल मन
मातापिताको आशिष् अनि गुरुले दिएको ज्ञान
सत्कर्म गरी बढ्नु छ अघि बढाई राष्ट्रको मान ।

जीवन सफल पारी देशको सपना साकार पारौँ
द्वेष मनमा नलिई कतै मिलिजुली अघि बढौँ
त्यसैले त सचेत हुँदै बुझी महत्त्व शिक्षाको
पढ्नुपर्छ राम्रोसँग सदुपयोग गरी समयको ।