April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

अनुशीलन नेपालका दुई कृति सार्वजनिक

माघ-१, झरना सञ्‍चार

अनुशीलन नेपालद्वारा प्रकाशित दुई कृति सार्वजनिक गरिएका छन् । माघ एक गते राष्ट्रिय योग दिवसको अवसर पारेर शान्ति निकेतन मावि राममन्दिर भक्तपुरको सभा हलको भव्य कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएका हुन् ।  

कार्यक्रमका सभापति तथा अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, प्रमुख अतितथ पाशुपत क्षेत्रका पाशुपत योगी महात्मा सुशील, स्वामी कल्याण मित्र, डा.इन्दुल केसी, शङ्करप्रसाद मानन्धर, साहित्यकार बुद्धिकुमार घो र साहित्यकार डा. सीता सुवेदी पन्थीले संयुक्तरूपमा कृति सार्वजनिकीकरण गर्नुभयो ।

समाजसेवक तथा योगसाधक शङ्करप्रसाद मानन्धरद्वारा लिखित ‘योग, ध्यान र साधना’ विचार सङ्ग्रह हो भने डा कृष्णप्रसाद दाहाल, डा.सीता सुवेदी पन्थी, विमला पोखरेल र टीका श्रेष्ठद्वारा लिखित ‘शब्दचित्रमा हामी भित्रका कविता केलाउँदा’ संयुक्त समीक्षा सङ्ग्रह हो । 

२०७८ सालमा प्रकाशित ‘शब्दचित्रमा हामी’ ३७ जना कविका ३७ वटा कविताको सङ्ग्रह हो भने सोही सङ्ग्रहका कविताको समीक्षा सङ्ग्रह हो- ‘शब्दचित्रमा हामी भित्रका कविता केलाउँदा’ ।

कार्यक्रममा प्रमुख अतिथि महात्मा सुशील, स्वामी कल्याण मित्र, डा. इन्दुल केसी, डा. चन्द्रमणि खनाल, डा सीता सुवेदी पन्थी, बरिष्ठ पत्रकार केबी सम्राट, बुद्धिकुमार घो, विजयराम प्रजापति, कृतिकार शङ्कर मानन्धर, डा.आशमा मानन्धर, जीवनाथ अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव टीका श्रेष्ठले र धन्यवाद ज्ञापन  सदस्य नेत्र घिमिरेले गर्नुभएको थियो ।

नेपाली भाषा, साहित्य, संस्कृति, कला, सङ्गीत र इतिहासको अनुसन्धान, श्रीवृद्धि  र सम्वर्धन गर्ने उद्देश्यले २०७९ सालमा विधिवत् रूपमा स्थापना भएको संस्था हो- अनुशीलन नेपाल । यसले नेपाली वाङ्मय प्रकाशन तथा लेखनमा सहजीकरण, कृति समीक्षा, परिसंवाद, परिचर्चा, अन्तरक्रिया जस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको छ । संस्थाको कार्यालय सूर्यविनायक – ३, भक्तपुरमा रहेको छ ।