April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

जब… तब

सपना प्रवाहित हुने कोषिकामा
जब रोपिन्छन्, भेटिभर
तब छाउँछ – सिर्जना शून्यता
कर्म गर्ने पाखुरीमा 
जब पहिर्‍याइन्छन्, अकर्मण्यताका चुरा
तब रोपिन्छन् – विकृतिका विषवृक्षहरू
गतिशीलताको प्रवाहमा
जब ठड्याइन्छन्, नुरेक ड्याम
तब चेतनाको बन्छ – फोहोर दह
सम्बन्धका ग्रेटवालहरूमा
जब रोपिन्छन्, चुच्चे सिसा र किलाहरू
तब ठडिन्छन् – दुस्मनीका सगरमाथाहरू
मायामा 
जब उम्रिन्छन्, वनमाराहरू
तब बन्छ – घृणाको अमेजन जङ्‍गल
विविधतायुक्त संस्कृतिमा
जब पारिन्छन्, नौ रेक्टरका धाजा
तब निम्तिन्छ – प्रलयरूपी विना
राजनीतिमा 
जब घोलिन्छन्, विदेशी स्वार्थका रङहरू
तब देश बन्छ – भ्रष्टहरूको क्यासिनो
शैक्षिक प्रणालीमा 
जब गरिन्छ, बिनाअध्ययन अनुकरण
तयार हुन्छन् – शिक्षित बेरोजगारको फौज
देशको नीति र योजना निर्माणमा
जब विराजमान हुन्छन्, धृतराष्ट्रहरू
तब गाउँ र बस्तीहरू बन्छन् – वृद्धाश्रम 
आशाका त्यान्द्राहरूमा
जब चलाइन्छन्, चुलेसीहरू
तब छाउँछ – अघोर औँसी !