पापी पेट

हजारौँ छन् गल्लीहरू
लाखौँ छन् चोकहरू
अनगिन्ती छन्
रोग, भोक र शोकहरू
असरल्ल छन्
भोका, नाङ्गा र जिउँदा लासहरू
स्वासमात्र फेरिरहेका छन्
एक गाँस चामलको आसमा
भौँतारिरहेका
तमाम भोको पेटका मालिकहरू ।

चिसो हिउँद, बर्खे झरी
असिनापानी हावाहुरी
बतास जस्तो
जिन्दगी कस्तो कस्तो
अत्यास र टिठलाग्दो
अहिले छ भरे छैन
भरे छ भोलि छैन
गाँस, बास र कपास
मात्र तीन वस्तुको
न छ कुनै इरादा
अन्य कुराको
छैन केही मनोकाङ्‌क्षा
दिलचस्पी छैन भाषणमा
सिद्धान्त, विचार, नीति–दर्शन
आदर्श, नियम, कानुनमा
अहम् केही चाह छैन
सवाल छ त केवल
यही पापी पेटको ।

पसिना बेचेर
जवानी बेचेर
इज्जत, आत्मसम्मान

स्वाभिमान
पोको पारेर कुनामा फ्याली
चलिरहेकोछ जिन्दगी
बेरस छ, बेचैन छ
निद्रा छैन आराम छैन
निरस छ जिन्दगी
निर्मम छ समय
छ त केवल पुकार
यिनलाई मात्र पापी पेटको ।