February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

प्रतिकूलता

मनमा डढेलो लाग्या छ
आँखामा बाढी पस्या छ
मनको डढेलाले
आँखा ओभानो हुँदैन
आँखाको बाढीले
 मनको आगो निभ्दैन
मस्तिष्क पहिराका चपेटामा अनुहार पर्‍या छ
ओठ खडेरीमा परेर पटपटी फुट्या छ
पाइतालामुनि भुइँचालो हल्लिरहेछ
गन्तव्यतिरबाट हुन्हुनाएर आँधी आइरहेछ
सगरमाथा जस्तो नाकलाई छोपेर
म अघि बढिरहेछु
कति पर पुगिन्छ म भन्न सक्तिनँ ।