ग्रन्थमा लक्ष्मण राजवंशी : उहाँकै सिर्जनामा चलचित्र
![](https://jharanasanchar.com/wp-content/uploads/2022/12/१.jpg)
पुस-४, झरनासञ्चार, काठमाडौँ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सिद्धार्थ वनस्थली इन्स्टिच्युटद्वारा आयोजित एक समारोहमा लक्ष्मण राजवंशी स्मृतिग्रन्थको लोकार्पण तथा लक्ष्मण राजवंशीद्वारा रचित कथामा आधारित चलचित्र ‘सनाखत’ को शुभारम्भ गर्दै शिक्षा, साहित्य र राजनीति क्षेत्रमा समर्पित राजवंशीले शिक्षाका क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय र प्रशंसनीय रहेको चर्चा गर्नुभयो। सो अवसरमा ‘सनाखत’ चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुभएका र सिद्धार्थ वनस्थली इन्स्टिच्युटका अभिभावक समेत रहनुभएका श्रेष्ठलाई अभिनन्दन गरिएको थियो।
![](https://jharanasanchar.com/wp-content/uploads/2022/12/५.jpg)
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लोकार्पित स्मृतिग्रन्थमाथि समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले बोल्दै लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वलाई ग्रन्थमा समाविष्ट विभिन्न लेखकहरूका रचनाले समेटेको बताउनुभयो। डा. गौतमले राजवंशीका बारेमा यस्तै अरू ग्रन्थ पनि तयार गर्न सकिन्छ भन्नुभयो।
![](https://jharanasanchar.com/wp-content/uploads/2022/12/२.jpg)
इन्स्टिच्युटका प्राचार्य तथा राजवंशीका सुपुत्र रूपक राजवंशीले आफू पिताकै पदचिह्नमा हिँडिरहेको बताउनुभयो। कार्यक्रममा चलचित्रका निर्देशक आर्यम नक:मिले राजवंशीले रचना गर्नुभएको कथामा चलचित्र बनाउन पाउनु खुसीको कुरा भएको बताउनुभयो।
![](https://jharanasanchar.com/wp-content/uploads/2022/12/४.jpg)
परराष्ट्रविद् प्रा. हिरण्यलाल श्रेष्ठले राजवंशीसँगै बिताएका दिनहरूको स्मरण गर्दै सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको अथक परिश्रम, सिप र समयको लगानीले मात्रै आजको अवस्थामा आइपुगेको हो भन्नुभयो। सभापति डा. सर्वोत्तम श्रेष्ठ, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्व विद्यार्थीद्वय साहित्यकार यादव भट्टराई र जयदेवकृष्ण श्रेष्ठ, सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शिक्षिका तथा साहित्यकार अनुराधा ढकाल लगायतले लक्ष्मण राजवंशीबारे बोल्नुभएको थियो।
![](https://jharanasanchar.com/wp-content/uploads/2022/12/३.jpg)
साहित्यकार, शिक्षाविद् तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
झन्डै साढे चार सय पृष्ठको स्मृतिग्रन्थको संयोजकमा साहित्यकार तथा मधुपर्क मासिकका प्रधान सम्पादक जयदेव भट्टराई र सङ्कलक तथा सम्पादकमा अमृता स्मृति रहनुभएको छ।
प्रतिकृया दिनुहोस्