February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

प्रयास

प्रेमरूपी ज्ञानको खानी हुँ म
घृणारूपी ज्ञान खोज्‍ने धोके पिपासु हौ तिमी

ज्ञातव्य के हो मायाको यो भव सागरमा
छैन समझ प्रेमको सृष्टिचक्र विषयमा 

उर्लिन्छ तन अनि मनमा ज्वारभाटा
बनी नै दिन्छौ तिमी ज्वालामुखी 

झङ्कारित स्वरमा  सम्झाउन खोज्छु
झनझन झडङ्ग बनी व्यर्थ झार्न खोज्छौ 

हतारिन्छु नवजीवनका लागि नवद्वारमा प्रवेश गराउन
तर तिमी क्रोधित नागिनी बनी खोज्छौ डस्‍न  

मेरो  तनमनमा क्लान्ति झल्किँदा
देखिन्छ तिमीमा क्रूर भाव 

अन्ततः क्रीडास्थलको क्रियाशीलता
परिणत हुन्छ  क्रूर आत्मामा 
यथेष्ट मान्यता पाएका हामी दुईको
बर्सौँदेखिको निरन्तर प्रयास
फेरि पनि प्रयासमै सीमित हुन्छ
फगत प्रयासमै विलीन हुन्छ ।