अनौठो जमाना !

बुवालाई ‘ड्याड’ मन्न पायो
आमालाई ‘मम्स’ भन्न पायो
नमस्कारको सट्टा ‘हेलो’ भन्न पायो
जमाना अनौठो नयाँ आज आयो ।

दौरासुरुवालको ठाउँमा सर्टपेन्ट लगाउन पायो
गलबन्दीको ठाउँमा टाई झुन्ड्याउन पायो
ढाकाटोपीका ठाउँमा कपालमा जेल लगाउन पायो
जमाना अनौंठो नयाँ आज आयो ।

हिसाब गर्दा क्याल्कुलेटर थिच्न पायो
चिठीको सट्टा फोनमा ‘हेलो’ भन्न पायो
भेट गर्न मनलागे इन्टरनेटमा आमनेसामने हुन पायो
जमाना अनौठो नयाँ आज आयो ।

समस्या परे मजाले सुनाउन पायो
जान र खान मन लागेजस्तै पायो
नगरे पनि ‘मैले नै गरेँ’ भन्न पायो
जमाना अनौठो नयाँ आज आयो ।

प्रजातन्त्रमा दल खोल्न पायो
दलको विश्वास टुटेपछि गठबन्धन गर्न पायो
लोकतन्त्रको नयाँ परिभाषा भन्न पायो
जमाना अनौठो नयाँ आज आयो ।

गिलासमा विलासी बन्न पायो
रवाफी र प्र‌भावी नेता बन्न पायो
प्रजातन्त्रको परिभाषा मास्‍न पायो
जमाना अनौठो नयाँ आज आयो ।