January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

बाबाको महिमा

त्रिलोक यादव
प्रसादी एकेडेमी
ललितपुर

घामझैँ उज्यालो दिने
रुखझैँ छाया
जीवन शीतल बनाउने
बाबाको माया
लाग्छ-
म सासले होइन
बाबाका साथले बाँचेको छु
बाबासँग छुट्टिनु भनेको त
असम्भव कल्पना जस्तै हो ।

मेरा नसामा बाबाकै रगत दौडिरहेछ
बाबाकै साहसले मेरो शरीर उभिरहेछ
मेरा पीडामा बाबाका आँखाबाट आँसु झरिहन्छ
बाबाकै चेतना मेरो परिवेश उज्यालो बनाइरहन्छ
त्यसैले मेरो जीवनको आधार नै मेरा बाबा
लाग्छ-
बाबाका अभावमा बाच्‍नु
अँध्यारामा बाँच्‍नुजस्तै हो
सासबिनाको शरीर बाँच्‍नुजस्तै हो
ताप र प्रकाशबिनाको घामजस्तै हो
चमकबिनाको जूनजस्तै हो ।

बाबाको माया हृदयभरि सँगालेको छु
बाबाको आशीर्वाद शिरमाथि राखेको छु
बाबाका प्रत्येक पाइलामा प्रेरणा देखेको छु
सधैँ मैले बाबाका मुहारमा खुसी देख्‍न चाहेको छु ।

लाग्छ-
बाबा बिना बाँच्‍नै सकिन्न
तर कतिको गुनासो होला
सधैं मानिस कहा बाँच्छन् त ?
महोदय !
जति बाँचिन्छ सार्थक बाँचियोस्
बाबासँग माया साटियोस्
सद्‍भाव साटियोस्
बाबालाई आदर गरियोस्
बाबाको महिमा बुझियोस् ।