त्रिफलाले गर्‍यो भव्य साधारण सभा

झरना सञ्‍चार, असोज १०

आज त्रिफला बचत तथा ऋण सहकारी संस्था लि.को एघारौं वार्षिक साधारण सभा- (२०७९) काठमाडौँको सामाखुसीस्थित स्काई रेस्ट्रो एन्ड बैङ्‍केटमा सम्पन्न भयो ।

संस्थाका सञ्‍चालक समिति अध्यक्ष हरिश्‍चन्द्र कुँवरको अध्यक्षता र सचिव विष्णु नेपालको सञ्‍चालनमा सम्पन्न सभामा संस्थाका कर्मचारी, व्यवस्थापक उषाकुमारी गुरुङले स्वागत गर्नुभएको थियो ।

सभाका प्रमुख अतिथि राष्ट्र बैंकका पूर्वसञ्‍चालक रामजी रेग्मी, विशिष्ट अतिथि ग्लोबल आई. एम ई. बैंकका वर्तमान सञ्‍चालक सुदर्शनकृष्ण श्रेष्ठ तथा संस्थाका पदाधिकारी एवम् सल्लाहकारहरू साथै संस्थाका सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष तथा कोषाध्यक्षद्वारा पेस गरिएका वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन आवश्यक छलफलपछि सर्वसम्मतिले पारित गरियो ।

सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संस्थाको पारदर्शिता र वित्तीय कारोबार संस्थाका शेयर सदस्य, निक्षेपकर्ता एवम् ऋणीहरूको हितलाई ध्यान दिई विश्वासनीय ढङ्‌गले अगि बढाइएकामा प्रशंसा गर्दै आगामी दिनमा अझ सचेत ढङ्‌गले संस्थालाई अघि बढाउन सुझावसमेत दिनुभयो ।

प्रमुख अतिथिज्यूबाट वर्तमान विश्वको खस्किंदो अर्थव्यवस्थाले नेपाललाई पनि असर गरिरहेको सन्दर्भ कोट्याउँदै सबैले मितव्ययी बन्दै आत्मनिर्भरता र स्वावलम्वन अपनाउनुपर्ने कुरा गम्भीर रूपमा उठाउनुभयो ।

कार्यक्रमको अन्त्यमा सभाका स‌भापतिद्वारा सह‌भागी सम्पूर्णलाई धन्यवादका साथै आगामी चाडपर्वहरूको शुभकाम‌ना प्रकट गर्दै सभाको समापन गरियो ।