December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

व्यावहारिक ज्ञानको महत्त्व

साहिल सुनार
कक्षा : ११
एभरेस्ट कलेज, थापाथली, काठमाडौँ

कुनै एउटा गाउँमा राम र हरि नामका मानिसहरू बस्थे । राम धनी बाआमाको छोरा थियो भने हरि सामान्य आर्थिक स्थिति भएको किसानको छोरो थियो । उनीहरूको स्वभावमा पनि भिन्नता थियो । हरि निकै मिहिनेती र परिश्रमी थियो । तर,  राम भने असाध्यै अल्छी थियो । राम विद्यालय त जान्थ्यो । तर, पढ्न भने अल्छी गर्थ्यो । घरका काम पनि केही गर्दैनथ्यो । उसलाई दुःख र मिहिनेतको अर्थ नै थाहा थिएन किनभने उसले कहिल्यै दुःख र मिहिनेत गरेकै थिएन । उसले जसोतसो आफ्नो पढाइ त पूरा गर्‍यो । तर, उससँग केही सिप थिएन । अनि कुनै सिप सिक्ने जाँगर पनि थिएन । उता हरिले भने सधैँभरि विद्यालय गएर पढ्न पाएन । उसले रातदिन घर र खेतका काम गर्नुपर्थ्यो । काम गर्दागर्दै उसलाई फुर्सद नै हुँदैनथ्यो । उसका घरमा काम सघाउने मान्छे पनि त कोही थिएन । उसका बाआमा बुढा भइसकेका थिए । घरको जिम्मेवारी हरिकै थियो । त्यसैले हरिले आफ्नो पढाइ बिचमै छाड्यो ।

हरि आफूले खेती गरेर उब्जाएको बालीनाली, तरकारी, फलफूल आदि बेच्‍न बजार जान्थ्यो । माटामै काम गर्नुपर्ने भएकाले उसका लुगा राम्रा हुँदैनथे । तर पनि हाटबजार जाँदा ऊ चटक्क मिलाएर लुगा लाउँथ्यो ।

एक दिन राम एउटा पसलमा बसेर चिया खाँदै थियो । हरिले बजार लगेका सामान बेचिसकेको थियो । उसले कसैलाई बजारमा पर्खनुपर्ने थियो । त्यसैले ऊ पनि चिया खाना पसलतिर गयो । चिया मगाएर हरि एउटा बेन्चमा बस्यो । त्यही बेन्चमा राम पनि बसेको थियो । हरिका लुगा र घाममा डढेको जिउ देखेर राम जुरुक्क उठ्यो । उसले मुख बिगर्यो र साहुजीलाई चियाको पैसा दिँदै भन्यो, “छिः ! पसलमा पनि कस्ता कस्ता मान्छे आउँछन् हँ !”

पैसा तिरेर राम बाहिर निस्कियो । रामले आफैँलाई व्यङ्ग्य गरेको हो भनेर हरिले बुझिहाल्यो । अनि मनमनै भन्यो, “म एउटा मिहिनेती किसान हुँ । किसानकै कमाई खारएर संसारका मानिस बाँच्छन् । अनि, त्यही किसानलाई यसरी व्यङ्ग्य गर्नु त हुँदैन नि ।”  रामको यो व्यवहार र बोली हरिका मनमा काँडो जसरी नै गाढिएर बस्यो । यो कुरा उसले कहिल्यै बिर्सिएन ।

समय परिवर्तन हुँदै गयो । हरि खेतीकिसानीमा नै रमाइरह्यो । अलिअलि पढेको हुनाले उसलाई कसरी खेती गर्दा राम्रो हुन्छ भन्ने ज्ञान पनि थियो । त्यसका साथै ऊ जिल्ला कृषि कार्यालयमा गएर समय समयमा कृषिसम्बन्धी तालिम पनि लिन्थ्यो । त्यसैले उसको बालीनाली राम्रो हुन्थ्यो । ऊ खेतीबाट राम्रो कमाइ गर्न सक्थ्यो । बिस्तारै ऊ गाउँलेहरूलाई कृषिसम्बन्धी तालिम पनि दिन थाल्यो । 

दिनदसा बाज बजाएर आउँदैन रहेछ । एक पटक अचानक गाउँमा आगलागी भयो । धेरै मानिसका घर जले । तीमध्ये राम र हरिका घर पनि जलेर खरानी भए । रामका घरमा दुई वर्षलाई पुग्‍ने अन्न थियो । धेरै पैसा र सुनचाँदी थियो । अन्न र पैसा जलेर नष्ट भयो । सुनचाँदी पनि खरानीका थुप्रामा कता हरायो, पत्तै भएन । 

हरिको त सानो छाप्रो मात्र थियो । उसका घरमा धेरै अन्न पनि थएन अनि सुनचाँदी र पैसाको त कुरै भएन । तर, हरिका खेतमा पाक्न लागेको बाली थियो । उसका हातमा सिप थियो र शरीरमा जाँगर थियो । उसका मुखमा मिठो बोली थियो । उसले निरन्तर काम गर्यो र नयाँ घर बनायो । उता राम भने काम गर्न सक्दैनथ्यो । उससँग काम गर्ने सिप, जाँगर र बानी केही पनि थिएन । केही समय त रामले ऋण गरेर राम्रै खायो, राम्रै लायो तर उसलाई सधैँभरि पुगेन । खेतमा बालीनाली राम्ररी फलेन । जहान छोराछोरी पाल्न नै उसलाई हम्मे पर्यो । 

सधैँझैँ हरि गाउँलेहरूलाई कृषिको तालिम दिइरहेको थियो । राम पनि तालिम लिन त्यहीँ पुग्यो । र भन्यो, “हेर हरि, मैले कृषिसम्बन्धी केही काम गर्न जानिनँ । मैले जति गरे पनि मेरो बालीनाली राम्रो भएन । अब तिमी नै मेरो गुरु बन र मलाई खेती गर्न सिकाइदेऊ ।”

रामको कुरा सुनेर हरि मनमनै खुसी भयो । उसले रामलाई पनि अरू किसानका साथमा राखेर कृषिसम्बन्धी तालिम दियो । तालिम सकिएपछि सबै गाउँलेहरू आआफ्ना घर गए । राम र हरि पनि आआफ्ना घरतिर लागे ।

त्यपछि धेरै दिनसम्म गाउँलेहरूले भनिरहे, “पढेर मात्र हुँदैन; व्यावहारिक ज्ञान पनि चाहिन्छ । रामले त्यत्रो पढेको छ तर उससँग व्यावहारिक ज्ञान छैन । त्यसैले रामले हरिलाई गुरु बनाउनुपर्‍यो । हरिसँग व्यावहारिक ज्ञान धेरै छ; पढाइ थोरै छ । व्यावहारिक ज्ञानसँगै पढ्न पनि सकेको भए हरि आज पक्कै पनि ठुलो मान्छे हुन्थ्यो ।”