January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

सामाजिक अध्ययन…

अञ्‍जली चौधरी
कक्षा : ११
एभरेस्ट कलेज, थापाथली, काठमाडौँ

धेरै वर्ष पहिलेको कुरा हो । एउटा गाँउमा राम भन्ने मान्छे बस्थ्यो । त्यो मान्छे एकदमै असल, सक्षम र सिर्जनशील थियो । ऊ एक्लै बस्थ्यो । ऊबाहेक उसका घरमा अरू सदस्य कोही पनि थिएनन् । राम सानो हुँदा नै उसका आमा, बाबाको मृत्यु भएको थियो । ऊ एकदमै मिनेती थियो । मिहिनेका साथै उसमा जहिले पनि सकारात्मक सोच थियो । ऊ मिहिनेत त गर्थ्यो नै साथै पक्कै एक दिन सफल भइन्छ भन्ने विचार गर्थ्यो । 

निरन्तरको मिहिनेत र सकारात्मक सोचका कारण उसको पढाइ राम्रो हुँदै थियो । पढाइ सकिएपछि उसले शिक्षकको काम पायो । विद्यालयमा उसले ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ पढाउनुपर्ने भयो । ऊ शिक्षक बनेर जागिर खान मात्र चाहँदैनथ्यो । समाजमा केही राम्रो काम गर्न पनि चाहन्थ्यो । ऊ समाज परिवर्तन गर्न चाहन्थ्यो । 

स्कुलमा रामको शिक्षण विधिलाई धेरै विद्यार्थीले राम्रो मान्थे । ऊ विद्यार्थीको मन पर्ने शिक्षक थियो । विद्यार्थीलाई हँसाउदै, रमाइलो तरिकाले पढाउँथ्यो । पढाउँदा आफ्नो गाउँसमाजका व्यवहारिक उदाहरण दिन्थ्यो । ती उदाहरणले विद्यार्थीलाई गाउँ, सहर, बजार, टोल, छिमेकमा घुमी घुमी पढेझैँ लाग्थ्यो । र, त्यसका बारेमा बुझ्‍न पनि सजिलो हुन्थ्यो । ऊ समय मिलाएर विद्यार्थीलाई घुमफिरमा पनि लग्थ्यो । 

विद्यार्थीहरू आफ्ना प्यारा गुरु रामको कुरा आफ्ना अभिभावकसँग पनि गर्थे । त्यसैले राम अभिभावकहरूका पनि आँखाका नानी बनेको थियो । समाजमा एउटा असल शिक्षकका रूपमा उसको इज्जत थियो । 

रामका गाउँमा युवाहरू विदेश जाने क्रम बढ्दो थियो । यस क्रमले कलेज पढ्ने विद्यार्थीहरू बिचमै पढाइ छाड्थे । र विदेश जान्थे तर उनीहरूले विदेशमा कमाएको पैसा बचत गर्न जानेका थएनन् । मोजमस्तीमा नै पैसा उडाउँथे । यस क्रमलाई रोक्नु  ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ विषयको शिक्षक भएका नाताले पनि रामले आफ्नो कर्तव्य सम्झ्यो ।  

गाउँलेहरूमा चेतना जगाउन उसले एउटा कार्यक्रम राख्यो । त्यस कार्यक्रममा सारा गाउँलेहरू भेला भएका थिए ।  उसले धेरै उदाहरणहरू दियो र आफ्ना कुरा बुझायो । उसले आफू  ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ विषयको शिक्षक भएको कुरा गर्यो । यस विषयको मूल उद्देश्य बालबालिकाहरूलाई असल, देशभक्त, चरित्रवान, सक्षम र सिर्जनशील नागरिक तयार पार्नु हो भन्ने कुरा गर्यो । अनि आज युवाहरू असल, देशभक्त, चरित्रवान, सक्षम र सिर्जनशील बन्न नसकेकामा गुनासो गर्यो । उसले गाउँहरूलाई विभिन्न सिप सिक्न र देशका लागि केही गर्न आग्रह गर्यो । सिप सिकाउन आफूले सहयोग गर्ने वाचा पनि गर्यो । सिप सिकेपछि स्वदेशमै केही रोजगारी पाइने कुरामा उसले गाउँलेहरूलाई ढुक्क बनायो । गाउँलेहरू उसका कुरामा सहमत भए र सिप सिक्न थाले । सिप सिक्नेहरूले गाउँ र सहरमा राम्रो रोजगारी पाए । कसैकसैले विदेशमा पनि राम्रो रोगजागरी पाए । 

बिस्तारै सबै गाउँलेहरू सक्षम बन्न थाले । गाउँको राम्रो उन्नति हुन थाल्यो । उनीहरू आफूले कमायएको पैसा उपयुक्त ठाउँमा लगानी गर्न थले । यसरी राम सरका कामले समाजको मुहार नै फेरियो ।
समाजभरि रामको प्रशंसा फैलियो । घरबाट बाहिर निस्कँदा उसलाई कसैले ‘राम सर’ कसैले ‘सामाजिक सर’ भन्दै झुकेर नस्कार गर्थे । बालक, युवा र बृद्ध सबै जना उसका नजिक जान रुचाउँथे । ऊसँग केही सिक्न चाहन्थे । ऊ पनि ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ विषयको शिक्षक भएर समाज परिवर्तन गर्न सकेकामा साँच्चै खुसी थियो ।