December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

प्यारमा जेलिनुको मिठास !

शस्यश्यमला धरतीलाई
पूर्ण चन्द्रले आज पारदर्शी शीतल घुम्टो
मधुरताका साथ
सर्लक्क ओडाइदिएछन् ।
 
तत्‌पश्चात् परबाट चन्द्रमाले
आफ्नी प्रियतमालाई मद्धिम प्रकाशमा
अपलक निहार्दै छन्
उनले आगो ओकलिरहेको
सूर्यरश्मीको सम्पूर्ण तपन
आफूमा समाहित गरेर
केवल शीतलता तथा कोमलतामा परिणत गरी
आफ्नी प्रियाको प्रत्येक आङ्ग जगमग जगमग ।
 
उनलाई थाहा छ
दिव्य सुन्दरताको रसपान
फगत दूरको अबलोकनको कमालमा सम्भव
‘ब्युटी इज टु सी नट टु टच’।
 
यता दिव्यघुम्टामा जेलिएकी पृथ्वी
प्यारको इजहारमा अविभूत
केही सङ्कुचाउँदै केही लजाउँदै
तर आनन्दविभोर
मनमनै रमाउँदै
अनि समुद्री छालको उर्लाइमा
आफ्ना सम्पूर्ण मूक प्रत्युत्तर बर्षाउँदै।
 
कहिलेकाहीँ बन्धन पनि त मिठो हुँदोरहेछ
प्यारमा जेलिनुको मिठास
स्वतन्त्रताको नीरवतामा कहाँ सम्भव !
२०७९-०४-११