February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५, मंगलवार

बितेका पलहरू

परिवर्तन आफैँ परिवर्तन हुने यस जगत्‌मा
यादहरू स्वर्णाक्षरले कोरिएका पानाझैँ लाग्दो रहेछ
कहिलेकाहीँ आखाँ चिम्ली यादका पाना पल्टाउँदा
बितेका पलहरू महभन्दा पनि गुलिया लाग्दा रहेछन्।
 
मन्त्रमुग्ध मनले हृदयको कुरा सुनेपछि
औँलाले मोबाइलको तस्बिर ग्यालरीमा दायाँ र बायाँ स्वाइप गर्छ
बितेका पलहरू सम्झँदा मखनजस्तै नरम लाग्छ
सम्झनाको रङमा घुलिन्छ मन
वर्तमान कामका लागि मन ताजा बनाउँछ ।
 
सम्झनामा डुब्दा अज्ञात सहजताको आभास हुन्छ
आँखा बन्द गर्दा, आफ्नै मुटुको धड्कन महसुस हुन्छ
बेफिक्री हावाले हाम्रो गालामा चुम्बन गर्छ
सुमधुर सङ्गीतले मन छुन्छ 
बेलुनजस्तो मन हलुङ्गो हुन्छ
अनुहारमा चमक, गालामा लाली
ओठमा मन्द मुस्कान छाउँछ ।
 
दुःख होस् या सुख, दुवै आफ्नै इच्छाले
आँखामा दु:खको आँसु, अनुहार ओइलाउँछ
या त आनन्दका मोतीले आखाँ रसाउँछ 
मन खुसीले नाच्छ ।
 
निलो आकाशमा चराहरूजस्तै समय कति छिटो उड्छ
वनमा ध्वनि हराएझैँ क्षण हामीबाट टाढा भाग्छ ।
 
अहिलेको क्षण अमूल्य छ
भाग्यमा लेखेको हुन्छ
या त मिहिनेतले पाइन्छ
समय मूल्यवान् छ
सम्झनाहरू अमूल्य छन्
जीवनले पलहरू उपहार दिन्छ
सम्झनामा हामी स्वीकार गर्छौँ।