January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

कसरी भनूँ ‘बिदाइ !’ ?

तिमी हिँड्दै गर्दा
तिमीले टेकेका पाइलाहरू
पर परसम्म चम्किला बनेर
बाटो कोर्दै
हामीलाई पठाउने छन् 
अनगिन्ती सन्देशहरू !

तिमी आयौ र गयौ !
एउटा ढकमक्क सयपत्री फूलजस्तो,
ज्ञानका पत्रैपत्र बोकेर !
त्यही फूल उनेर माला लगाई उभिएका छौँ हामी 
घनीभूत ज्वारभाटाहरू उफ्रँदै छन् 
मनमस्तिष्कमा!
तिमीबिना पनि आउने ती दिनहरू सम्झेर!
तर हामी ढुक्क छौँ 
तिनै मालामा उनिएका फूलहरू 
जब सुक्न थाल्छ्न्
रोप्‍ने छौँ बिउ, नरम माटोमा
अरू धेरै धेरै फूलहरू फुलाउन 
अरू धेरै धेरै गमलाहरू सजाउन ।

तिमी  छाया हौ
जहाँ गए पनि हामीलाई उज्यालो दिने
छायाबिना उज्यालोको अस्तित्व कहाँ छ र ? 
छायालाई कालो देख्‍ने हामी
बल्ल बुझ्दै छौँ 
अन्धकारमा खोइ त छाया?
सूर्य होस वा मैनबत्ती 
तिम्रै भरोसामा प्रकाश छरिरहेछ
अनि तिमी सुटुक्क
बिनाकुनै वैरभाव
बसिदिन्छौ कालो छाया बनेर 
हाम्रै वरिपरि, ज्ञान लहरीमा शीतल बताससँग
चचहुई चचहुई 
पिङ खेल्ने, 
अनि यी भुत्ते मस्तिष्कमा धार लगारहने ।

अब ती रित्ता फूलबारीमा
सुकेका मालाबाट फूल चुडेर
नयाँ बिरुवा उमार्ने छौँ हामी 
अनि धेरै फूल फुलाउने छौँ
तिम्रै प्रतिबिम्बहरू !
र पर्खने छौँ 
सधैँ सधैँ
तिम्रो पुनरागमन
ती फूलहरूलाई
फक्राउन 
निरन्तर चलिरहने 
भित्ते घडीको सेकेन्ड काँटाजस्तो
छ्याक्कछ्याक्क आवाज
झस्काइरहने छ हामीलाई 
समयबोध गराउन
सहयात्राको 
सहअस्तित्वको ।

तिमी हिँड्दै गर्दा,
तिमीले टेकेका पाइलाहरू
परपरसम्म, चम्किला बनेर
बाटो कोर्दै
हामीलाई पठाउने छन् 
अनगिन्ती सन्देशहरू !