March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार

महिला सशक्तीकरण

अलिना कोजू

कक्षाः १०

लर्ड बुद्ध इङ्लिस स्कुल

मध्यपुर ठिमी, भक्तपुर

महिलाको शाब्दिक अर्थ नारी हो भने सशक्तीकरणको बलियो बनउने काम हो । यसलाई व्यापक अर्थमा भन्दा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा विद्यमान विभेदको अन्त्य गरी महिलालाई सशक्त बनाउनु भन्ने हुन्छ । सशक्त महिला मात्र परिवार, समाज तथा राष्ट्रको उन्नयनमा सफल हुन सक्छन्।

घरपरिवार, समाज र राष्ट्रको समग्र विकासका लागि महिला सशक्त हुनु आवश्यक हुन्छ । आर्थिक, शैक्षिकलगायतका विविध क्षेत्रमा सबल बनाउन सके मात्र महिलाहरू सशक्त हुन्छन् । सशक्त महिलाले मात्र घरपरिवार, समाज तथा राष्ट्रको समग्र क्षेत्रको उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । अर्थात् घरपरिवारदेखि सामाजिक, अर्थिक, राजनीतिक आदि हरेक क्षेत्रमा सबल भूमिका खेल्न सक्छन् । वैदिक कालमा गार्गी, मैत्री जस्ता शिक्षित महिलाहरूले समाज परिवर्तन गरेको तथा पौराणिक कालमा पनि समाजमा विद्यमान अधर्म तथा अन्यायका विरुद्ध पुरुषहरू असमर्थ हँदा शक्तिको अवतार बनी महाकालीरूपी नारीले नै त्यस्ता अधर्मी एवं अन्यायीहरूको संहार गरी न्यायपूर्ण समाज निर्माण गरेका दृष्टान्तहरू अद्यापि पढ्न सकिन्छ ।

आज एक्काइसौँ शताब्दीका महिलाहरू कुनै रूपमा पनि कमजोर छैनन् , केवल अवसरको अभाव मात्र हो । महिलाहरू सिर्जनाकी मुहान हुन् । आजका महिलाहरू शिक्षित र सबल भए उनीहरूले मात्र होइन पुरुषले पनि सुख पाउँछन् । हरेक क्षेत्रमा पुरुष मात्र अगाडि बढ्ने र महिलाहरूलाई पछि पार्ने नीति लिइयो भने कसैको पनि भलाइ हुँदैन । महिलालाई सशक्त नबनाई अबला, अदना र कमजोर ठानेर राष्ट्रविकासको महान् अभियानमा सरिक गराउन नसक्ता चौतर्फी नोक्सानि भइरहेको छ । राजनीतिक, प्रशासनिक, शैक्षिक आदि क्षेत्रमा महिलाहरूलाई सबल बनाई अगाडि बढ्ने उपयुक्त वातावरण बनाउनुपर्छ ।

नारीलाई शक्तिको स्वरूप मानेर नारीको पूजा नभएको ठाउँमा ईश्वरको वास हँदैन भन्ने पूर्वीय सभ्यताको केन्द्रका रूपमा रहेको नेपालमा नै बाल्यावस्थामा पिता, यौवनावस्थामा पति तथा वृद्धावस्थामा पुत्रद्वारा संरक्षित हुनुपर्ने महिलाहरू कहिल्यै स्वतन्त्र नबनाउने निकृष्ट व्यवहार हाम्रै समाजमा देखिनु लज्जाको विषय हो । वर्तमान नेपाली समाजमा सामाजिक संस्कारका रूपमा विद्यमान छाउपडी, बोक्सी, दाइजो, देउकी जस्ता कुप्रथाहरू आजको सभ्य समाजका लागि कलङ्क नै हुन् । यस्ता खाले विभेदका अन्त्यका लागि महिलाहरू सशक्त हुनै पर्छ । अझै पनि महिलाहरू विभेदको शिकारबाट मुक्त हुन सकेका छैनन् । नारी हुनु भनेको कमजोर हुनु हो भन्ने परम्परागत मान्यताबाट वर्तमान नेपाली समाज मुक्त हुनै पर्छ ।

महिला र पुरुष समान हुन् भन्दै विश्वव्यापी रूपमा चलिरहेको आन्दोलनले नेपालमा पनि महिला सशक्तीकरणको क्षेत्रमा केही कार्यहरू हँदै छन् । विशेष गरेर नेपालको नयाँ संविधान वि.सं. २०७२ मा हरेक क्षेत्रमा अनिवार्य रूपमा कम्तीमा पनि ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्वको व्यवस्थाले केही हदसम्म महिला सशक्तीकरणमा सुधार भएको देखिन्छ नै । सञ्चार माध्यमको विकास, सचेत पुरुष तथा महिलाहरूको सक्रियताका कारण यस क्षेत्रमा सुधार देखिएको छ । महिला लक्षित जीवनस्तर सुधार गर्ने योजना, अवधारणा तथा कार्यनीतिमा महिलामैत्री वातावरण सिर्जना गरी अघि बढेमा सामाजिक संस्कारका रूपमा समाजमा विद्यमान कुप्रथा तथा कुसंस्कारको अन्त्य भई सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक आदि क्षेत्रमा महिलाहरू सशक्त हुने छन् ।