February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

पूर्णिमाझैँ उदाउनू

म हिँड्ने धर्ती, आकाश अड्यो, चहक जुनको
स्वभाव शीतल,  मुहार तिम्रो,  जुनझैँ टल्केको
गालामा लाली, गुलाबी अधर, यौवन खिलेको
बादलु केशको हटाई घुम्टो, जून छ बलेको ।
 
शीतल ज्योति, रातको जून, मुटुमा बसेझैँ
तिम्रो मुहर सर्वत्र देख्छु, पूर्णिमा बिम्बितझैँ
तरङ्ग मनमा, सुवास हावा हरर बगेको,
नागबेली चाला, सर्वाङ्ग रस, धड्कन बढिगो ।
 
 
आँखा पढ्ने मध्ये परेँ म, यसना मेरो केको दोष?
खै कहिले पाउलान्, तिम्रो निधार चुम्न, मेरो प्रेमिल ओठ !
आखाँ बन्द, मनमा तिम्रै मुहार, बैशले मन मदहोस
फक्रिँदो गाला, अधर गुलाबी, यौवनकै सब दोष,भएँ म बेहास
 
हेरिरहुँ, बस एक टक नियाली रहुँ,
निधारबाट कपाल कानतिर मोडिदिऊँ,
आँखा झिम्काइदिऊँ? काउकुती कम्मरमा लगाइदिऊँ !
नाकको बुलाकी, कानको बाली, कोसेली दिऊँ?
 
मख्ख पार्न सबले जाने छन् यहाँ,
सुखी र खुशी हुनुको भेद मनन् गर्नू,
अरूको नकल गर्न नाटक हैन, जीवन हो
प्रिय तिमी आफू भएर बाँच्नू!
 
आफ्नो भाग्यको रचयिता तिमी स्वयम् हौ
नारित्व वरदन, मातृत्त्व स्वयम् पूर्ण ब्रम्हज्ञान हो
 
प्रिय परिस्थितिसँग कहिले तिमी हार नमान्नू
प्रथा समाजका लागि हो, स्वयम् आफ्ना पखेटा बन्नू,
अनन्त सपनाको आकशमा उड्नू
आकाशमा लाखौँ तारा माझ, मेरी प्रिय,
तिमी पूर्णिमाझैँ उदाउनू!!