December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

हाम्रो आधुनिकता

कस्मिना ढुङ्गाना
पुष्पलाल मेमोरियल कलेज
कक्षा : ११
 
चौतारी अब चाहिएन नजिकै जोत्दै गयो डोजर
अग्लो पिपल चाहिएन वर झन् पारिदियौ सोत्तर ।
ती आधार थिए नि भूमि जल वा हावा कडा धुपको
यौटा धुपी सजाउन अब यहाँ संस्कार नौलो छ यो ।।
 
छायाँ शीतल चाहिएन न यहाँ खाँचो कुनै ओतको
सोच्ने चेत नवीन जोश उनको के मूल्य प्राचीनको ?
मिल्काएर सबै विचार घरको अर्को त्यसै मिल्छ रे
मैँ बाँकी नहुँदा खुसी गजबको सर्वत्र पाइन्छ रे !!
 
माया, प्रेम छुटे विवेक कुरुणा आस्था ढलेको दिल
ढुङ्गाझैँ सब ठोस हुन्छ जगतै त्यो हो नयाँ मन्जिल ।
हिंसा, बर्बरता स्वाभाविक हुने सम्बोधी चाहिन्न है
हामी मानव देखिए भैगयो सौन्दर्य चाहिन्न है ।।
 
बासी भो सब इतिहास तिनको च्यातेर पानाहरू
व्यर्थ लाग्छ कला र संस्कृतिहरू आफ्ना चिनारीहरू ।
सल्काई सब सम्पदा दनदनी तापेर आगो जब
मान्छौ त्यो अति उच्च आधुनिकता तिम्रो छ के खै अब ?
 
जो आफ्नो छैन काम अरूकै भाषा सिकी गर्बिलो
मिठो छैन नि खानपान घरको सुक्खा लिई फुर्तिलो ।
देख्दा गज्जब लाग्छ उच्च कदको खोक्रो कतै छौ कि त ?
भत्केको दिन दुख्छ सन्तुलन यो आफ्नो र अर्कोसित ।।
 
जो सम्पति थियो सकेर कसरी भोकै र नाङ्गै भयौ
सोध्दैनौ किन प्रश्न एक अहिले पुर्खाहरू को थिए ?
सुम्पी ज्यान लडी शत्रुसँग ती हार्दै नहारी गए
सुम्पी आज त स्वाभिमान सब यी कस्तो निकम्मा भए ।।
 
मिल्काई घरको जगै अनि कता खोज्ने नयाँ मृत्तिका ?
भत्काई गुँड बास बस्‍न सजिलो जाने कहाँ कोसित ?
भोको पेट, दिमाग रिक्त जब भो चैतन्य सारा गयो
हाम्रो कर्म सुदुरसम्म पछुतो कस्तो निकम्मा भयो ।।