December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

काभ्रेपलाञ्चोकको यात्रा

जमुना गिरी
मनोहर माध्यमिक विद्यालाय
कक्षा ११
जडीबुटी बसपार्कबाट हाम्रो यात्रा साँगा, वनेपा, धुलिखेल हुँदै अगाडि बढ्छ । हामीले यात्रा गरिरहेका क्रममा साँगामा नेपालकै सबैभन्दा ठुलो महादेबको मूर्ती देख्न सक्छौँ । धुलिखेलको डाँडाबाट गौरीशङ्कर हिमाल देख्न सक्छाँ । धुलिखेल हुदैँ अघि बढ्दा दायाँतर्फ भकुन्डे, तिमालचोक हाम्रो प्रतीक्षा गरिरहेका हुन्छन् । बायाँतर्फ सिन्ढुलीको सीमाना बसेको नेपालथोक पनि हामीलाई हेरिरहन्छ । तिनपिप्ले र पाँचखाल हुदैँ अघि बढ्दा पलान्चोक भगवतीको दर्शन गर्ने अवसर हामीलाई मिल्छ । हाम्रो यात्रा अघि बढिरहन्छ । दोललघाटको सुसेली र छङछङ गर्ने सुमधुर सङ्गीतले हाम्रो मन तान्छ । समय परिवर्तनसँगै बाटो पनि परिवर्तन भएको छ । पहिला पहिलाको पुराना, कच्ची र उबडखावड बाटो सुकिलो पिच भएको छ हिजोआज । त्यसै पिचले यात्रीहरूलाई पनौतीमा लाग्ने ठुलो मकर मेलामा पनि पुर्याउँछ । त्यस मेलामा हजारौँ मानिसहरुको रमाइरहेका हुन्छन् ।
धुसिनीको शिवालय, केउरनीको स्मृति मैदान, ढाँड खड्का भञ्ज्याङको भिउ टावरबाट वरपर रहेका मनोरम दृश्य अवलोकन गर्दा पाइने आनन्दा अन्त कहाँ पाइएला ! ढाँड खड्का भञ्ज्याङमा रमाउँदै हाम्रो यात्रा चौरी देउरालीतर्फ मोडिन्छ । घुमाउरा बाटामा मोटरसँग हामी पनि सलल बहिरह्यौ । बाटाछेउका रुख, भित्ता रपरपरका दृश्यहरूले एक टक लगाएर हामीलाई हेरिरहेका थिए । चौरी देउरालीनजिकै रहेको जखाडी भन्ने गाँउको फलफूल बगैचाले हामीलाई आत्मियता प्रकट गर्यो । सुनकोसीका माझी दाइ भाँती मिलाई मिलाई जालमा माछा पारिरहेका थिए । सुनकोसिका डुङ्गा यात्रीको प्रतीक्षामा थिए । एकछिन डिङ्गा चढेर आनन्द लिइयो । मादनकुडारी वरिपरिका टारपाखाहरु आफ्नै पारामा रमाइरहेका थिए । देउराली डाँडामा पाथिभरा मन्दिर देख्दा मनै शान्त भयो । अनि, मन्दिरमा बजेको घण्टाले समयको बोध गरायो । चौरी देउरालीमा अवस्थित श्री प्रभा मा.वि कोसीपारिकै नमुना विधालयको अवलोकन गर्दा गौरव बोध भयो । देउरालीनजिकैको टोकी ढुङ्गामा यस ठाँउका हिन्दु धर्मावलम्बी पूजाआराधना गर्न भिड लागेका थिए । भोलुङमा ८०० सय फिटमाथिबाट झर्ने झरना देख्दा त्यही झरनाकमा छङ्छङ गर्दै झर्न मन भयो ।
टोकी ढुङ्गा, भीमसेनथान मन्दिर र पलाञ्चोक भगवती मन्दिरले यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि बढाएका छन् । यहाँ झरना, सुनकोशी, चौरीखोला आदिले पर्यटकीय क्रियाकलापलाई पर्यावरणमैत्री बनाएका छन् । यहाँ फिल्म सुटिङ गर्नेहरूको पनि आवतजावत बढ्न थालेको छ । यस क्षेत्रमा आउने पर्यटकलाई सुविधा दिने उद्देश्यले होटल लजको पनि व्यवस्था गरिएको छ । यी कुरालाई अझ व्यवस्थित र व्यावसायिक बनाउने हो भने यस क्षेत्रको उन्नति प्रगति हुन बेर लाग्दैन भन्ने मिठो आशा बोकेर काठमाडौँ फिरियो ।