September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

अर्को अर्थ नलागेमा

मानिस जन्मन्छ, हुर्कन्छ, बुढो हुन्छ र चोला त्याग्छ
जसरी जीवजन्तु, वनस्पति सबैको नियति त्यस्तै छ
ईश्वरले सृष्टि गरेको संसारमा मान्छे त्यो प्राणी हो
जसले विवेक बन्धक राखेन भने स्वत्वबोध गर्छ ।

संसार त मानिसको मात्र क्रीडास्थल होइन रहेछ
अनेकौं अनेक प्राणीले खेल्ने खेल मैदान पनि हो
त्यतिले मात्र कहाँ हुन्छ र कहिले भूकम्प र बाढी
ज्वालामुखी सुनामी जस्ता प्रकोप मान्छेले नै निम्त्याएको हो ।

उहिले उहिले हैजा, विफर, आउँमासी रोग देखा पर्थे
मानिस उपचारको अभावमा क्रमशः सखाप हुन्थे रे
अहिले शिलयुद्ध, मिसाइल युद्ध के के हो के के रे
क्षण भरमै मानिसहरु भष्म खरानी अरू के नै रह्यो र ?

एकले अर्कोलाई देख्नै नहुने बिर्सेर सबै आफ्नोपन
मान्छे हुनुको अर्थ नबुझेर मान्छे एकोहोरो छ विनासतर्फ
सृजना त मान्छेको कृति हुनु पर्ने हो तर खै कता कता
मान्छे मान्छे नभएर दानव भएको समय यो विनास गर्न ।

देउता बन्न सक्ने सामर्थ्य बोकेर मान्छे बाँच्नु पर्नेमा
खै कता अलमलियो यो मनुष्यता र मानवतापन
सँधै आहार विहार शुद्ध नभएर पो मान्छे बिग्रिएको हो कि ?
होइन भने मानव वर्तमानमा दानव छ अर्को अर्थ नलागेमा ।