May 31, 2023, Wednesday
२०८० जेष्ठ १७, बुधबार

मन

कति चञ्चले छ यो मन
सपनाको संसारमा डुबिरहेछ
कसैगर्दा पनि सन्तोष हुन नसक्ने 
हिजोभन्दा आज इच्छा पूरा गर्न बढिरहेछ यो मन
 
कहिलेकाहीँ पागलझैँ हाँस्छ
अनि कहिले न्याउलीझैँ रुन्छ
कहिले खुसीको छालले प्रफुल्लित हुन्छ
हाँस्ने रुने हर्कत गरी पागलझैँ भइरहेछ यो मन
 
असम्भव सपना बुनिरहेछ
साथीहरूको लहैलहैमा रमिरहेछ
किन सबैसँग माया बाँढ्न 
तल्लीन भइरहेछ यो मन
 
कसैको सौन्दर्यतर्फ कति छिटो आकर्षित भइरहेछ
किन उसैको तस्बिरमा टोलाई रम्न खोजिरहेछ
गलतलाई पनि सही देख्ने
कति उच्श्रृङखल भइरहेछ यो मन
 
कहिले पानीझैँ सय डिग्री तातिरहेछ
कसैको साथ छुट्ने डरले आत्तिरहेछ
मायाको संसार सजाउन
कति उत्तेजित भइरहेछ यो मन
 
पुराना चोटहरूलाई बिर्सन खोजिरहेछ
नयाँ जीवनको सुरुवात गर्न तत्पर भइरहेछ
आफ्न्ना व्यथा कोर्न पाउँदा
किन हर्षित छ यो मन
 
बाहिरी दुनियाँमा रम्न खोजिरहेछ
भित्रैबाट असामान्य ऊर्जा बढिरहेछ 
कसैको दुखलाई किन
आफ्नै दु:ख सम्झी रोइरहेछ यो मन।