February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५, मंगलवार

खोजी

धेरै दिन भयो कागज र कलम लिई बसेको
कलमको मसी कत्ति सरेको होइन
कागजमा एक शब्द कोरिएको छैन
मन बिचलित छ,
प्रेरणाको खोजIमा बिहानै उदाउँदै गरेको
सूर्यलाई हेर्न चाहेँ
सूर्य त बदलको साहरा लिई लुकेर उदायो
हावाको सरसराहटमा आफ्ना शब्द खोज्न चाहेँ
रूखका पातहरू अचल बनी बसिदिए
खोलाको बग्दै गरेको पानीमा आफ्ना शब्दहरु देख्न चाहेँ
खोलाको पानी त धमिलिएको पाएँ
मानिसहरूको भिडमा पनि कतै मेरा शब्दहरू
भेटिएला कि भनी खोज्ने प्रयास गरेँ
त्यो कोलाहलमा न शब्दको
पुकारलाई मैले सुनेँ न त उनले मलाई
रातको जूनलाई पनि पर्खिबसेँ
कतै उसका उज्यालामा मेरा शब्दहरू भेटियुन्
तर रात त औँसी लिई भित्रियो
फेरि एकान्तलाई रोजेँ
यस आशमा कि, कतै चाल मारेर ध्यापा मार्दै
मेरो सामु आउला
तर उसको ध्यापा पाइनँ, सायद गलत कुना रोजेँ क्यारे
हैरान लखतरान, आफूलाई नै एकछिन कोसेँ
अनि आफैलाई केलाउन थालेँ,
शब्दहरू नाचिरहेका मभित्र
काहाँ काहाँ, कुन कुना कुन चिजमा खोजिन
तर आफूभित्र नियाल्न भुलेँ
जब नियालेँ
सूर्य बादलपछाडि लुकी उदाउन छोड्यो
रूखका पातहरू जीवित बने
खोलाका पानी सङ्लियो
कोलाहलमा पनि शब्दसँगको वार्तालाप स्पष्ट हुनथाल्यो
औँसीको रातमा, एकान्तमा शब्द मसँगै टॉसिएर बस्छन्
कलमका मसी सर्न थालेको छ
कागजमा शब्दहरू कोरिँदैछन्
मनको बेचनी कम भएको छ।