September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

औचित्य

आज, त्यो कुर्सीमा बस्ने वर्तमान
आफू भूत हुँदा, त्यो कुर्सीमा बस्नेलाई
बहुत गाली गर्थ्यो
आज, ऊ आफै त्यो कुर्सीमा पुग्दा
उसले बहुत गाली खाँदै छ
आज गाली गर्नेहरू फेरि भोलि
त्यो कुर्सीमा पुग्लान् भन्दै
तीनलाई गाली गर्न भविष्य तम्तयार छ
मानौँ, यो एउटा “लूप” हो
जसको प्रक्रिया एकोहोरो दोहोरिरहन्छ
कहिल्यै फेरिँदैन!
तर, विडम्बना!
त्यो “लूप” भित्र म पर्दैन भन्ने कुरा
कसैले याद गरेनन्
म आफ्नो यथास्थितिमा बस्न
सकेको छैन
मेरा खाँबोहरू कमजोर हुँदैछन्
म बाहिरबाट पूर्ण चर्किएको छु
भित्रबाट पूरै भ्रष्टाचारले खिइएको छु
यो देख्दा
उनीहरूले, मैले मर्मत खोजेको
परिवर्तन खोजेको
वृद्धि खोजेको कुरा बुझ्नुपर्ने हो
तर, उनिहरूले खै के बुझ्छन्
मलाई झन् चोट दिन खोज्छन्
बारम्बार, मैमाथी ढुङ्गा प्रहार गर्छन्
मलाई लज्जित बनाउन
कालो पोतोले पोत्छन्!
उनिहरूलाई, अझ बढी ज्ञान दिन्छु भन्दै
म ठडिएको थिएँ
तर, मानौँ पहिलेका ज्ञानीलाई
मैले झन् अज्ञानी बनाउँदै छु।
यो भूत, वर्तमान र भविष्यको कलह
म रहेसम्म चली नै रहला
र, यो कलहले मलाई समाप्त गर्नै आँटेको छ
म सिद्धिन लागेको कुरासँग कसैलाई चासो छैन
मानौँ, उनिहरूको जीवनमा मेरो कुनै अर्थ छैन
तर, उनिहरूले यो बिर्सँदै छन्
म नरहे
यहाँ, भूत, वर्तमान, भविष्य केही रहँदैन
म बिना यहाँ कसैको औचित्य छैन।