Epaper
Contact Us
September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
प्रेम पत्र (प्रणय दिवस विशेष)
चूडामणि रेग्मी
२०७८ फाल्गुन १
916 views
कान्छी, तिमी मेरा जीवनमा अचानक आयौ भूकम्प जस्तै,
तर, विस्तारै गयौ अस्ताउन लागेको घाम जस्तै,
तिमी गए पनि तिम्रा पराकम्पनहरू आउँदै छन्
आइरहन्छन् ।
अस्ताउँदो घामले छोडेको लाली जस्तो ।
अनि उदाउदो सूर्यको किरण जस्तो ।
तिम्रो सुन्दरता, कोमलता अज्ञानता, चञ्चलता
अतुलनीय छ ।
तिम्रो स्नेह, चरित्र र धैर्य
अलौकिक छ ।
म त्यही मेरा भौतिक आँखाले देखेको तिम्रो अनुपम तस्विरमा
रङहरू भर्ने गर्छु
शिरदेखि पाउसम्म,
सबै पूर्ण ।
कान्छी, म कहाँ विर्सन्छु र ?
तिमीसँग बिताएका रङ्गिन पलहरू
खोलाको किनारमा, भिड सहरमा, रेस्टुरेन्टमा
मन्दिरमा,गाडीमा ।
पार्कमा तिम्रो हात समाई समाई
हिँडेको अघि मात्र हो जस्तो लाग्छ ,
हरियाली जङ्गलबिचको खुल्ला एकान्त चौरमा,
दुवाको डसना ओछ्याएर ,निलो आकाश ओडेर
मैले तिम्रो छातीई सिरानी लगाएको ,
अनि निदाएझैँ नक्कल गरेको ,
तिमीले मेरो केस सुम्सुम्याएको ।
तिमी र म त्यही प्रकृतिको काखभित्र
डुल्दाडुल्दै अचानक वर्षा हुँदा
तिमीले बोकेको सानो छातामा ओत लागेको ,
एकअर्कालाइ वर्षाबाट जोकाउन खोज्दाखोज्दै
दुवै जना निथुक्क भिजेको,
तिमीले आफ्नो भिजेको शिर
मेरा काँधमा अडेस लगाउँदा
तिम्रो केशबाट फिजिएको मनमोहक सुगन्ध
म अनुभव गरिरहेछु अझै पनि ।
वर्षाको रुजाइले जाडो भएर
तिमीले आफ्नो शरीर मेरो नजिकै ल्याउँदा
तिम्रो शरीरको स्पर्षले दिएको अनौठो अनुभूति
कसरी बिर्षन सकुँला र , कान्छी ?
आफ्ना आँखाले जसलाई हेर्न चाहिन्छ
उसैका आखाँबाट आफू पनि हेरिँदाको
त्यो अद्भुत आनन्दको पल
कहिल्यै अन्त्य नहोइदियोस् जस्तो लाग्थ्यो ,
म तिमीलाई अविरल देख्छु ,अटुट हेर्छु ।
कन्यामको चिया बगानमा
तिमी मेरो छातीमा आफ्नो टाउको अड्याएर,
मेरो शरीरमा लेपास्सिएको बेला
मेरा ओठहरू तिम्रा केसभरि पौडँदै गरेको
म देखिरहेछु अहिले पनि ।
तिमी सम्झ त …
तिमीले र मैले सँगै बिताएका रातहरू
१० बजे, ११ बजे ,१२ बजे,
तिमी हाँस्थ्यौ, म हँसाउँथे,
तिमी हँसाउँथ्यौ ,म हाँस्थे ।
हाम्रो भौतिक शरीर सँगै नभएर के भो र ?
तिम्रो मन त म सँगै छ नि , हगि !
तिम्रो मिठो स्वर मेरा कानभन्दा पर कसरी जान सक्ला र ?
अनि तिम्रो तस्विर ??
मेरा आखाँलाई छाडेर कहिल्यौ टाढा जान सक्दैन , कान्छी ।
मोबाइलको मेसेजलाई माध्यम बनाएर
तिमी कति खप्पिस थियौ माया देखाउनलाई,
तिमीले , “I am missing you a lot ”
भनेर लेखेको मेसेज अझै पनि
मस्तिस्कमा प्रस्टै छ ।
तिम्रा लामा लामा औँलाहरूले टाइप गरेका
“ Good night ,
Bye,
Take Care ,
See You ”
शब्दहरू
तिमीले मेरै लागि बनाएका
निजी शब्द हुन् जस्तो लाग्छ मलाई,
तिमीले मात्र प्रयोग गर्ने
तिम्रा पेवा हुन जस्तो लाग्छ ।
तिम्रो जन्मोत्सवको दिन
मेरो हातबाट तिम्रो हातसम्म
पुग्न पर्खिएको गुलाबको कोपिला
फक्रिसक्यो , कान्छी ।
तिम्रो सुन्दरता र पवित्रता देखेर
कति ईर्ष्या गर्दो हो त्यो गुलाब ।
त्यही दिन तिमीलाई पठाउन
रातभर नसुतिकन लेखिएको प्रेम पत्र
तिमीसँग पुग्न नपाएकोमा कति रुँदै होला हगि ?
सन्ध्यासँगै पर छितिजबाट
धर्तीतिर ओर्लदै गरेको सूर्य
तिमीलाई स्पर्स गर्न पाएकोमा
कति हर्षविभोर भा’छ, हेर त ,
संसारसामु तिमीलाई देखाउन पाएकोमा
कति भाग्यमानी ठान्दो हो घामको त्यो किरण ।
मलाई पनि त्यही निर्जीव सूर्य बनेर
आँखा टट्याउन्जेल तिमीलाई हेर्न मन छ,फेरि सधैभरि ।
पाथिभाराको पाहाडबाट
अध्यारालाई ओझेलमा पार्न
आकाश चड्दै गरेको जून ,
तिम्रो सुन्दरता, तिम्रो मनमोहकता ,
तिम्रो चञ्चलता र इमान्दारीता देखेर
किंकर्तव्यविमूढ भएर
टक्क अडिएर हेरे जस्तो लाग्छ , तिम्रो अनुहारलाई ।
कति डाह गर्दो हो त्यो चन्द्रमा,
कति इर्ष्या गर्दो हो तिम्रा विलक्षण गुणहरूको ।
पृथ्वीमा बहने पवन
तिम्रो कोमलता र तिम्रो माधुर्यताको अनुभूति गर्न
तीव्र गतिमा दगुरिरहेको छ, तिमीलाई स्पर्श गर्न ।
तिमीलाई कतैबाट चिहाउँदा पनि
देख्न नपाएर काला बादलका धब्बाहरू
झगडा गरिरहेकाछन् आपसमा,
सायद तिमीलाई थाह छैन होला,
त्यो असारको अशान्त वर्षा,
उर्लँदो भेल ,
पारी पाखाको भित्ताबाट हामफाल्दै गरेको झरना ,
तिमीलाई निथ्रुक्क हुने गरी रुज्न नपाएर,
तिम्रो शरीरमा तिमीले लगाएको कुर्था निथ्रुक्क भिज्दा ,
तिमीलाई धित मरुन्जेल हेर्न नपाएर ,
अनि ,तिम्रो केसबाट लडीबुडी गर्दै
पैतालासम्म बग्न नपाएर
आफ्नो आक्रोस देखाइरहेझैँ लाग्छ मलाई ।
अनि ती शान्त सागर र नदीहरू नि…
तिम्रो शरीरको स्पर्ष पाउनलाई
तिमीलाई खोज्दै
चारै दिशातिर फैलिएका छन्
बगिरहेका छन् ,निरन्तर ।
कान्छी तिमी नि …
समय हौ , सिजन हौ ।
अर्थात्, तिमी वर्षात मात्र कहाँ हो र ?
तातो सूर्य पनि हो, तिमी,
खडेरी पनि हो तिमी ।
पृथ्वीका हरेक जीवनको अस्तित्व
सूर्यबिना सम्भव छैन नि हैन ?
त्यसैले
तिमी जेठ, असारको रापिलो घाम भई आउँथ्यौ
मेरा मनका खेतका गराहरू पटपटी फुटाउँथ्यौ ।
मनभित्र अंकुराएका आशाका लहराहरू
विश्वासका बिरुवाहरू,
भत्याकभुतुक पारिदिन्थ्यौ, कान्छी तिमी ।
सायद तिमी तिम्रो शक्ति देखाउँथ्यौ ,
अनि, ओइलाएका आशाका लहराहरू,
विश्वासका त्यान्द्राहरू,
फेरि तिमीलाई नै पर्खिरहन्थे,
तिमी कहिले वर्षा बनेर वर्षन्छौ भनेर ।
हो कान्छी , तिमी फेरि आउँथ्यौ , अवश्य आउथ्यौ ।
जब तिमी मेरो जीवनमा भदौरे मनसुनझै बर्सन्थ्यौ नि ,
ओइलाएका आशाका लहराहरू बिउँझन्थे ,
चारो खोज्न गएकी पोथी ढुकुर
अबेर राती गुड आउँदा निदाएका बचेरा,
बिउँझिए जस्तै ।
मरेको मेरा विश्वासका त्यान्द्राहरू जाग्थे,
डाक्टरको उपचारपछि मृत्यु शैयामा पुग्न लाग्या विरामी जागे जस्तै ।
कान्छी ,
म त्यही झरीमा आफूलाई आत्मसात् गर्दै
बग्दै, कहिले उत्रँदै,कहिले डुब्दै
कहिले तिम्रो हात समाउँदै,
कहिले तिमीले मलाई
आफ्नो अंगालामा गुटुमुटु पारेर बेर्दै
म तिम्रो मायाको मेरियाना ट्रेन्चसम्म डुब्थे,
अझ भनौँ ,
जब तिमीले तिम्रो मायाको मेरियाना ट्रेन्च देखायौ ,
मेरो मन
हर्ष, खुसी, उमङ्ग , आनन्द , मजा र सन्तुष्टि
एक साथ अनुभव गर्दै ,
सगरमाथाको टुप्पालाई उफ्रिएर चुनौती दिन्थ्यो ।
कान्छी , तिमीलाई खुसी दिने मेरा रहरहरू
तिमीलाई हसाइराख्ने मेरा चहानाहरू,
तिम्रा हरेक रहर पूरा गर्ने मेरा अठोटहरू,
तिमीलाई साथ दिने मेरा प्रतिज्ञाहरू,
तिमीसँग हातेमालो गर्ने मेरा आकाङ्छाहरू,
पर्खिरहेकाछन् भित्रभित्रै , अनन्तकालसम्मका लागि ।
तिमी फेरि फर्किएर आऊ है ।
प्रणय दिवशको शुभकामना ।
उही तिम्रो प्रणय !
लेखकको सम्वन्धमा
चूडामणि रेग्मी
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
मेरो कलम
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
नेपाल प्रहरी
तिजको रङ्ग
मनन गरौँ
धेरै पढिएको
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
२०८१ भाद्र २७
मेरो कलम
२०८१ भाद्र २९
नेपाल प्रहरी
२०८१ भाद्र २४
लेखकको सम्वन्धमा