September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

बाबु–आमा

आमा–बाबुबाट भएछ जन्म ।
आमा बाबुको महिमा अचम्म ।।
आमा तिमी हौ ममताकी खानी ।
सक्दिनँ मैले गुण त्यो बखानी ।।

आमा पहिलो तिमी पाठशाला ।
बाबा छ तिम्रो हृदय बिशाल ।।
बाबा भए पुग्छ सधैं मलाई ।
आमासँगै बस्न पाऊँ रमाई ।।

तिर्ने छु आमा दुधको अभिभारा ।
बाबा–आमाको म बनौं सहारा ।।
गंगासरि छन् दुवै यी पवित्र ।
सकौं म पुज्न मन भित्र–भित्र ।।

चार वेदभन्दा पनि खुला छन् ।
चारधामभन्दा पनि ठुला यी छन् ।।
नचिने यिनलाई ऊ पछाडी पर्छ ।
निस्वार्थ माया पो अरू कसले गर्छ ।।

बाबा तिम बाट हो ज्ञान लिने ।
राम्रो सभ्य बोल्न सिकाई दिने ।।
पिएर आमा दुःधका ती धारा ।
हुर्कन्छ सन्तान तिम्रो लिंदै सहारा ।।

संसारमै ममतामयी भएर आमा ।
राख्छौ हामीलाई मुटुका कुनामा ।।
तिम्रै पदचाप म लिएर हिंड्छु ।
बाबा तिमीबाट संसार चिन्छु ।।

विष्णुसमानै ठान्छु पिताजीलाई ।
लक्ष्मीसरी मान्छु म माताजीलाई ।।
बिर्सेर यिनलाई पूजा गरौं कुन् ।
काँसी, गयाजी तीर्थ सब यिनै हुन् ।।

सन्तानको गल्ती हजारौं सहन्छन् ।
तैपनि क्षमा भनी सहजै कहन्छन् ।।
सम्मान राखौं सबैले मनमा ।।
संसारमै श्रेष्ठ छन् बाबु–आमा ।