December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

मातृत्व र वात्सल्य

गोविन्दप्रसाद काफ्ले
 
कागलाई मान्छेसँग भिड्न सक्ने शक्तिको स्रोत,
बचेराको संरक्षणको जिम्मेवारी,
वा आफूले अन्य निरीह चराहरूको,
बचेरा खाए जस्तै,
आफ्ना बच्चालाई आफूभन्दा बाहुबलीले,
मारिदेलान् भन्ने डर,
कारण जेसुकै होस्,
सकेसम्म बचेरा भएको गुँड वरिपरि,
निर्माण गर्छन् एक अदृश्य तर अभेद्य कवचको वृत्त,
पालैपालो वा सँगसँगै भालेपोथी ।
 
तर,
उनीहरूभन्दा बाठो कोइली,
त्यस अभेद्य कवचको निर्माणपूर्व नै,
फूल पारेको अवस्थामै,
ती जोडीले संरक्षणको जरुरत,
महसुस गर्नुपूर्व नै,
आफ्ना फुल सुटुक्क राखिदिन्छ,
कागको गुँडमा,
न ओथरा बस्ने झन्झट,
न दिनभरि सुरसाको जस्तो मुख बाउने,
बचेरालाई चारा ल्याउने दिक्दारी,
सम्पूर्ण जिम्मेवारीबाट मुक्ति,
एक झट्कामा ।
 
प्रकृतिको कालचक्रमा,
देवकी र यसोदाको नियतीको पुनरावृत्ति,
फरक यति छ,
देवकीले यसलाई आफ्नो,
दुर्भाग्यको पराकाष्ठा सम्झिन्,
कोइलीले आफ्नो बठ्याईंको उत्कर्ष,
उही प्रकृति,
उही मातृत्व,
फरक सोचाइको पुर्नै नसकिने खाल्डो !
 
यसोदाले कृष्णको वात्सल्यको,
भरपुर रसास्वादन गरिन्,
कृष्ण पनि सधैँ,
जन्मदिने र पाल्ने दुवै आमालाई,
उत्तिकै मान्ने गर्दथे रे !
कोइलीको बच्चो हुर्काउन,
कागले पनि उत्तिकै वात्सल्य लुटाएकै हुँदो हो,
तर,
कोइलीको बच्चो हुर्किएपछि,
तिमीहरू  ‘को हो’ ‘को हो’ भन्दै,
चिन्न सम्म पनि नचिने झैँ,
काग जोडीलाई प्रश्न तेर्स्याउँदै उडेर भाग्दा,
सारा प्रकृति नै रगतको आँसु रुँदो हो,
सारा मातृत्व नै शर्मसार हुँदो हो ।
२०७८-०४-३०