June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

गजल

बिनाफैसला यो कुरा अब नि टार्ने नगर्नुस्,
एकैचोटि मार्नुस्, दिनैपिच्छे मार्ने नगर्नुस्।

बुनेको छ यौटा रहरको मुखौटा कसैले,
हजुर बाध्यताको छुरीले उधार्ने नगर्नुस्।

सम्हालेर राख्नुस्,कुनै दिन बहुत काम लाग्ला,
यी बेअर्थका बातमा आँसु झार्ने नगर्नुस्।

नियाल्नुस् खुसीलाई केवल अरूले दिएका,
र, पीडाको अनुहार हेरेर हार्ने नगर्नुस्।

कसैलाई सम्झेर निदाउने बानी छैन,
हजुर आई यो मेरो बानी बिगार्ने नगर्नुस्।