December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

आत्म खोज

तिमी मेरो, म तिम्रो भन्नेहरूको भिडमा,
म आफू आफ्नै हुन सकेको छैन।
अरूको मायाको आशमा मैले आफैलाई भुलिसकेछु,
खै किन हो कुन्नि म आफ्नै अस्तित्व खोज्दै भट्किरहेछु।
 
उत्पत्ति एक, ऊर्जा अनेक,
स्तुति एक, ईश्वर अनेक,
जीवन एक, जिज्ञासा अनेक,
मन एक, भावनाको प्रवेग अनेक
 
उत्तम आनन्द एक, उत्कृष्ट कर्म अनेक,
प्रेम एक, परमात्मा मिसिने आत्मा अनेक !
 
भावना मनमा कस्ता, चाहना मनमा कस्ता,
विपना सत्य हो कि सपना ?
म बाँच्ने वर्तमान कि म बस्ने समाज ?
समय काट्नु या बाँच्नु जीवन हो ?
 
किन प्राण नदेखिदो हो, तन खरानी हुँदा आर्य घाटमा,
किन प्राण नदेखिदो हो, धुवाँ बनी उड्दा आकाशमा,
के मर्छन् भावनाहरू? कता पुग्छ यो चेतना ?
न कालो छ न त सेतो,  बस् खैरो रङ्ग, खरानी झैँ  यो जीवन !
 
मस्तिस्क हैन, मनका भावना सत्य, अनुभव अमूल्य
आफू भएर बाँच्न नजाने, यो जीवन मरेतुल्य
न विपना न सपना न निद्रा सत्य हो
तुरीय: आत्म चेताना सत्य हो!
 
मेरो मन त हैन प्रशंसा प्रेमी ?
तन विलासी जीवनको प्यासा ?
सित्तैमा बनाउन खोजेको त हैन आफूलाई नामी ?
बन्न खोजेको त हैन म, पाखण्डी जोगी या बोक्रे भलादमी
 
चिन्तन मनन गर्न नखोजेको त हैन मेरो मनले ?
बस कमी म मानवमा नहोस् मानवताको कहिले
चाहिएको छैन सबैको वाह-वाही,
खोक्ला प्रशंसा, झुठो आदर मलाई,
 
पुग्छ मलाई, मनले गरिएको प्रशंसा, एक शब्दकै भए पनि
प्रशंसा कामको न कि नामको, शान्ति मनको
 
चाहिएको छ पूर्ण क्षमता आफ्नो तन, मनको उपयोग,
संसारको भौतिक माया-मोहको वियोग,
तृप्त अन्तर मनको मृग तृष्णा,
गुरुबाट ज्ञानको भिक्षा !
 
मन सागर बन्न नसके पनि बनोस् ताल,
मनको ताल जोडियोस्, ज्ञानको सागर विशाल
एक पल नि अल्झिन फुर्सद नहोस्, बनूँ म बेहाल
डुबूँ म कर्ममा, हरेक दिन, महिना, ऋतु, साल
 
छन् सब कर्म, परमात्मासँग जोडिन
सिर्जित पथ प्रेमको, वैराग्यमा मनको
हृदयले स्वीकार्य मलाई प्रेमको बन्धन
रोज्नु छ आफैँ, कर्म पथ र निजी सम्बन्ध
 
जुन कर्म, जुन व्यक्तिले मभित्रै लुकेको पहिचान,
खोजिदिन मद्दत गर्छ,
त्यो काम, त्यो व्यक्ति नै मेरो प्रेमी
त्यो नै अलौकिक, अद्भुत प्रेम !
 
सब त्याग्नु भन्दा नि, एक चुन्नु हजारौँमा, वैराग्य हो
अन्तिम सास रहेसम्म,
बस एक नामले मुटु धड्किरहोस्
बस एक कर्मले आत्मा तृप्त होस्
 
अर्थपूर्ण या अर्थहीन ?
पाप या पुण्य?
सुख या दु:ख?
राम्रो या नराम्रो ?
 
सबैभन्दा माथi प्रेम, विन्दु आनन्द
तृप्त मनको, सार जीवनको
 
पर्मेस्वरको महिमा निस्वार्थ प्रेममा, मेरो मन अर्पण !
मैले रोजेको कर्म र सम्बन्धमा होस् मेरो जीवन समर्पण !
 
आहा ! भेटाएँ मैले आफैलाई, मभित्रै हे परमेश्वर !
भेटाएँ आफ्नै तन, मनमा मैले आफूलाई हे इश्वर !
आफ्नो मुटुको धड्कनमा, मनको चेतनामा !
विपनाको लक्ष्य, मनले देखेको सपनामा !