June 7, 2026, Sunday
२०८३ जेष्ठ २४, आईतवार

रित्तो कोठा कस्को ?

आहा !
कस्तो मिठो
तिलस्मी
कोकिलकण्ठ
मधुर आवाज !
यहीं भित्रबाट आइरहेछ
निरन्तर
अविछिन्न
अहम् कहीं कतै
नअलमल्लीकन
एकै सुरमा
एकै लयमा तालबद्ध भएर
घन्किरहेछ
मादलुको ताल झैं
मायालुको चाल झैं
लचक लचक लच्किरहेछ
थाकेर एकैछिन आराम गरूँ भन्दैन
भो भो केही छिन त बस्छु नि भन्दैन
चुपचाप चलिरहन्छ
निरन्तर निरन्तर
भोक, तिर्खा, निद्रा केही नभनी
कती भो यात्राको दूरी नगनी
एकनास गतिशील भएर
ऊ चलिरहन्छ
निरन्तर निरन्तर
हो त्यही गतिवान,
कोमल हृदयको
चार कोठामध्ये
एक तिम्रो
एक मेरो
एक हाम्रो मायाको
अनि अर्को एक रित्तो
त्यो रित्तो भर्ने केले ?
त्यो त रगतले भरिजान्छ नि
होइन
रगत त
नशा–नशा भौतारिइरहन्छ नि
अनि भन न त
त्यो रित्तो कोठा कस्को ?