April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

स्वभाव

भन्छन् मानवता अधिकार अब भो उस्तै छ सारास्थिति।
नारी जागृत भो र बिक्री हुनगै विदेश पुग्छन् कति ।।
चोरी भैकन दिन्दिनै लगिसके नेपालका बालक।
बेरोज्गार किसान भूमि नहुने उस्तै छ लौ हालत ।।
 
भिन्नै शासन भो अवश्य अब ता नेपाल राम्रो गरे ।
भन्दैथे अरू देशले तर पछि षडयन्त्र नेता परे ।।
मेधावी गतिलो जनप्रिय भए षड्यन्त्रमा पर्दछ
सत्तापक्ष न भै विपक्षतिरमा कानुन के गर्दछ ?
 
लङ्का,भारत,पाक, वङ्गातिर औ पाश्चात्य जहॅा तहॅा।
हत्याको छ प्रचार विश्वभरिमा ऐले गणतन्त्रमा ।।
पत्ता हुन्न कुनै कुरा पनि कतै खोजी गरेमा पनि।
जान्नेले पनि भन्दिदैन डरले फेला परौँला भनी।।
 
काम क्रोध र लोभ मोह नहुने हुन्नन् कुनै मानिस।
भिन्नै हुन्छ कि मनुष्यहरूमा सारा ती न्यायाधीश।।
तिनले जे जति गर्दछन् सब कुरा स्वतन्त्र निष्पक्ष छ।
खुल्ला द्वार छ छैन कोही घरमा राखेर के बच्तछ।।
 
द्यौता भूपति धर्मकर्म कतिले आलोचना गर्दछन्।
न्यायाधीश स्वतन्त्र छन् उनीहरू जे गर्दछन् गर्दछन्।।
वोलेमा अपमान भो भनी अरू थपिन्छ दण्डादिक।
साक्षत यी यमराज हुन् पृथिवीका जो छन् ती जीवान्तक ।।
 
आई दिव्य परी सधैंभरि सँगै खेल्बाड गर्ने गरे।
घरमाभित्र पसी कुनै पुरुषले पत्नी बेइज्जत गरे ।।
ठुलो लाभ हुने प्रशस्त धनको कुरा सुनेमा मन।
छाडी काम र क्रोध लोभ नगरी कसको हुने संयम ।।
 
पर्दैनन् कि कुनै अपूर्व चिजको संसर्गले मोहमा।
विद्याले धनले जवानी मदले हुँदैन क्वै होसमा ।।
आफ्नो छैन भने अवश्य अरूको मात्सर्य गर्छन् सबै।
काम, क्रोध र लोभ मोह नहुने हुन्नन् कुनै मानिसै ।।