बिम्ब

त्यो जूनजस्तै
घामजस्तै
फूलजस्तै
र, पातमा टल्पलाउँदो शीतजस्तै नबनोस्
त्यो, मजस्तै बनोस् ।
आकृति त क्यामेराले कैद गर्न सक्छ
ऐनाका अगाडि प्रतिबिम्बित हुन सक्छ
के म त्यति मात्र हुँ त ?
त्यसैले
आकृति मात्र होइन
भावना पनि समेट्ने
त्यस्तो बिम्ब खोजिरहेछु
ता कि म मैलाई चिन्न सकूँ
म आफैँलाई स्पर्श गर्न सकूँ
मेरा भाव मैले नै बुझिनँ भने
मलाई मैले नै चिनिनँ भने
अरूलाई कसरी बुझुँला र म ?
अरूलाई कसरी चिनुँला र म ?
अरूले कसरी बुझ्लान् र मालाई ?
त्यसैले क्यामेराले कैद गर्न नसक्ने
ऐनाले प्रतिबिम्बित गर्न नसक्ने
मभित्रको मसहितको
मैलाई प्रतिबिम्बित गर्ने
एउटा बिम्ब खोजिरहेछु ।
लेखकको सम्वन्धमा