March 23, 2023, Thursday
२०७९ चैत्र ९, बिहीबार

गुरु महिमा

गए वनवाट विरुवा ल्याएर उमार्ने दिन,
ती आदिम मानवका दिनचर्या,
जे पायो बटुल्यो,
त्यसैमा मेहनत गर्यो,
अब त नश्ल सुधारक कृषि वैज्ञानिकको,
अवतारका रूपमा,
उच्चतम प्रतिफलका प्रतीक,
उन्नत नश्ल अन्वेषक विकासक र उन्मोचकका रूपमा,
विद्यार्थीको उन्नयन,
महिमा हो गुरुजीको ।
 
आँखा चिम्म गरेर,
पूर्ण आश्था र विश्वासका साथ,
डोको जत्रो मुख वाउँदै,
सन्तुलित आहारको खुराकमा विश्वस्त बचेरालाई,
बारीमा जुन भेट्यो त्यही,
किरा खोजेर ठुँडमा ल्याएर ख्वाउने जस्तो नभई,
मौरीले झैँ,
लाखौँलाख फूलवाट पराग बटुलेर,
आफूले निलेर आधिउधि पचाएर,
अमृतरूपी महमा परिणत गर्दै खुवाउने,
महिमा हो गुरुजीको ।
 
कुरूप तथा देख्दै सकसक लाग्ने,
छुँदा चिलाउने झुसिलकिरालाई समेत,
सुन्दर पुतलीमा रूपान्तरण गर्दै,
गुरुको पनि गुरु बनेकी प्रकृतिको,
सटीक अनुकरणको दायित्व,
महिमा गुरुजीको ।
 
दिउसो मलहम पट्टी गर्ने एक साधारण नर्स,
फ्लोरेन्स नाइटिङ्गेललाई,
राति कुशलक्षेमकी रानी,
आस्थाकी खानी,
सम्पूर्ण जगतकी दिदी ‘सिस्टर’
‘लेडी विथ द ल्याम्प’ झैँ परिणत गराउने,
अथक प्रयासको महिमा गुरुजीकै ।

२०७८-१-२५
स्वआश्रम ।