March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बुढौती-२

वरिपरिको पर्यवरणीय पक्षसँगको,
बैमनस्य र शीतयुद्धलाई,
सदासदाकालागि पूर्णबिराम दिन,
आफ्नै टाउकोमा ‘सेतो झन्डा’ लहराउँदै,
युद्धविरामको मात्र हैन समाप्तीको,
स्थायी संदेश लिएर,
आउँदोरहेछ बुढौती ।
 
एक छोडी सम्पूर्ण ज्ञानेन्द्रियहरूले आफ्नो,
तीक्ष्णताको वेगलाई बिस्तारै बिस्तारै,
लगाम लगाउँदै,
एउटै जिब्रोमा खन्याएजस्तो,
थान थापेर बसेको छ,
प्रत्येक आइटम खानाको ‘पोस्टमर्टम’ गर्न,
मुखमा पर्नासाथ,
आँखा चम्केर तारा बन्छन् कहिले,
कहिले बाङ्गिन्छ मुख,
मुखमण्डलमा कालिमाको बढोत्तरीसहित ।
 
कर्मेन्द्रियले समेत शनै: शनै:,
मस्तिष्कको आदेशको अबहेलना,
आफ्ना एजेन्डामा पार्न थालिसके,
शरीरको सर्बोच्च शासक तथा न्यायाधीश,
दुवैको भूमिकामा हुँदाहुँदै पनि,
आदेशको अबहेलनाको दण्ड दिने साहस,
मस्तिष्कले गुमाउँदै गएको छ,
जनादेश घट्दै गएको पार्टीको अध्यक्षले,
आफ्नै अनुयायीको कटाक्ष सहे जस्तो ।
 
भौतिक लक्ष्मीको सङ्गत तथा सान्निध्यसँग,
केही दूरी कायम गर्दै,
अध्यात्मिक लक्ष्मीको शरणमा जान,
लालायित मन,
एउटा भएको त्यै मन पनि,
बिस्तारै खुम्चिँदै गएजस्तो,
साना साना कुराले पनि,
चिरिक चिरिक फाट्ने,
पुरानो मक्किएको कपडाजस्तो,
आँखा र यो सङ्कुचित मनको,
तादात्म्य अनौठो,
फाटेको मनको उद्घोष,
रशिलो आँखाको नियती ।
गोविन्द प्रसाद काफ्ले

२०७८-०६-१५
विश्व जेष्ठ नागतिक दिवश