October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

सालको पुकार

मलाई विश्वभरि नै ‘सोरिया रोबस्टा’ भनेर,
चिन्दछन् वैज्ञानिक जगतले,
शोरले मलाई पत्ता लगाए रे,
खै के पत्ता लगाए थाहा छैन,
म त सहस्रौँ वर्षदेखि मान्छेसँगै छु,
सहस्रौँ वर्षसम्म रहने छु,
यदि मेरो बासस्थानमा कुनै,
राजनीतिज्ञको गिद्धे आँखा नपरे,
सुकुम्बासी बसाउन,
वा,
कुनै अति बुज्रुक प्राविधिकले,
मलाई काटेर मसला जस्तै प्रजाति रोप्ने,
सागरनाथको प्रक्रिया नदोहोर्याए,
तर मेरो पहिलो नाम उही सोरजीको नामबाट रह्यो,
र दोशस्रो नाम ‘रोबस्ट’ भएकोले रह्यो,
अर्थात् म असाध्यै बलियो भएकोले रे ।
 
हो म असाध्यै बलियो छु,
तनमा, मनमा, भाग्यमा, र दुर्भाग्यमा पनि,
मेरो फेदमा बुद्ध जन्मिनु मात्र ‘इत्तेफाक’,
त हुँदै होइन !,
राजाको छोरा मेरो …..,
सालको रुखको फेदमा जन्मनु ?
हाँगाले सहारा दिन पाउनु सुत्केरी मातालाई,
त्यहाँ बुद्ध जन्मिँदा सारा ग्रह नक्षत्र,
मेरै फेदमा एकत्रित भएर,
शुभ मुहुर्त बनाएका थिए,
मेरो फेद पावन पुण्यस्थली बनेको थियो,
तर बिडम्वना,
त्यो स्थल मात्र पवित्र बन्यो,
म बन्न सकिनँ,
त्यत्रो बलियो भाग्यसँग जोडिएको,
उत्तिकै बलियो दुर्भाग्य !
पछि ज्ञान प्राप्त भएको पिपलको रुख,
प्रख्यात भयो, पुजियो,
तर मेरो अस्तित्वको मान्यता अहँ खै ?
बुद्धले मेरै काखमा परिनिर्वाणसमेत प्राप्त गरे,
मेरो भाग्यको ढोका बन्द थियो बन्दै त रह्यो ।
 
मेरो तन बलियो छ,
त्यसै बलियो तनको बलियोपन,
बुद्धले जन्मसंस्कारमै पाए,
सारा राजपाठ, समाज, परिवार,
चटक्क छोडेर जान सक्ने लौह अठोट,
लौकिक बन्धनबाट छुटकारा पाउने उपाय महानिधिस्कमण,
चान्चुने मनको प्रस्फुटन त हुनै सक्दैन,
त्यो लौह अठोट,
मेरो फेदको जन्मसंस्कार,
मैले अलिकति पनि श्रेय नपाउने ?
 
मलाई सय वर्ष खडा, सय वर्ष पडा,
र सय वर्ष सडा भन्दछौ तिमी मानव,
बुद्धको त्यो दिव्य ज्ञान जसमा म,
आफ्नो हिस्सेदारीको पूर्ण दावी गर्दछु,
पच्चिस सय वर्षदेखि उत्तिकै सान्दर्भिक छ,
मेरो दीर्घजिवीपन र बलियोपनको प्रस्तुतीकरण
जस्तो लाग्दैन तिमीहरुलाई ?
बुद्धको एक बहुमूल्य दर्शन अस्थिरताको सङ्केतसमेत,
मेरै फलको अत्यन्तै छोटो उमारशक्तिले दिन्छ त !
 
आगो फलामसँग मिसिएकाले पिटिन्छ रे,
विभिन्न औजार बनाउँदा,
तर दियोसँग दोस्ती गर्दा पुजिन्छ रे,
मेरो त्यत्रो ‘एसियाका दीपक’सँगको,
जन्मिँदादेखिकै सान्निध्य तथा दोस्ती,
फास्स न फुस्स ?
अन्जानमा हो,
या एउटा बलियो षड्यन्त्र नै हो ?
२०७८-०२-१५