तस्बिर (फोटोग्राफी अनुभव)
घामका तेर्सा किरणले पोतिएर टलक्क टल्केका छन् रुखहरु। भर्खर पानी परेर थामिएको चितवनको आकाशमा बादलका फाटफुट टुक्राहरु यताउता सग्बगाउँदै छन्। हामी शिवघाटको थुम्कोमा राखिएका बेन्चमा बसेर नारायणी नियाल्दै छौँ।
बर्षाले धमिलिएर अस्पष्ट नारायणी आफ्नै वेगमा पश्चिमपट्टि कुद्दै छ। रङ्गी-विरङ्गी पहिरनमा सुसज्जित युवा-युवतीहरु, नारायणीलाई ब्याकग्राउन्डमा पारेर तस्बिर लिन व्यस्त छन्। केटाकेटीको कोलाहल, बुढाबुढीको मौनता एवम् युवा-युवतीहरुको फोटो सेसनले एक नौलो आभा फैलिएको छ, चारैतिर । बिचबिचमा प्रकट हुने मौनतालाई चिर्दै नारायणी आफ्नै बेगमा स्वाँ-स्वाँ गर्दै छ।
रामपुरबाट मसँगै साइकलमा आएकी साथी चटपटे लिन उठ्छिन्।
“मचाहिँ नखाने! आई हाभ अभोइडेड चटपट सिन्स् द न्यू ईयर”, मैले अङ्ग्रेजी मिश्रित स्वरमा उनलाई भनेँ।
“ओके”,भन्दै उनी बाटो छेउको स्टलमा कुदिन्।
म बेन्चबाट उठेर, थुम्कोको स्टिल बारमा अडेस लगाउँछु। त्यहीँ तल नारायणी बग्दै छ। मेरो गृहजिल्ला बाग्लुङ्गबाट आउने कालीगण्डकी पनि यसमै मिसिन्छ। म कालीगण्डकी सम्झँदै छु। बर्खामा काली बेतालले मात्दथ्यो। बुढापाकाहरू काली बहुलायो भन्थे। सुरिला केटाहरु तिरसम्म जान्थे। कालीले बगाएका बौरेटा समाउथे र बोकेर माथि गाउँसम्म ल्याउथे। तर नारायणी भने शान्त छ। सायद विशालताले पनि होला। आखिर काली पनि यसकै एक अंश न हो। म पुराना कुरा सोच्दै नारायणीको धमिलो पानी नियाल्छु।
छेउमा दुई युवती फोटोसेसनमा मग्न छन्। म फेरि स्टिल बारको टुंडामा टाँसिदै एक टहकले नदी हेर्छु।
वास्तवमा म तस्बिरको सौखिन होइन। तर किन हो आजभोलि म मिलेसम्मका अनुभूतिहरु तस्बिरमा कैद गर्न खोज्छु।
नारायणीमा स-साना डढेका काला ठुटाहरू बगिरहेका छन्। सायद माथि घाटबाट आएका होलान्। मलाई मृत्युबोधले झ्याप्प समाउँछ।
कोरोनाको कहालीलाग्दो प्रकोपले हजारौं मानिसहरु कमिला जसरी मर्दै छन्। जीवन खाली तथ्याङ्कमा सिमित हुँदैछ। यद्यपि यो पूर्ण व्याख्या भने हुने छैन।
आज दिनभरि कोठामा मैले केही दार्शनिक लेखहरू पढेथेँ। फ्रेन्च दार्शनिक ज्याक डेरिडाको (Theory of Deconstruction) विनिर्माणको सिद्धान्तले मेरो मनमा गज्जबको हलचल ल्याएथ्यो। त्यसपश्चात् मैले उनका केही पुराना अन्तरवार्ता हेरेँ। डेरिडाको फोटोग्राफीबारे धारणाले मलाई आफ्नो व्यक्तिगत अनुभव र तस्बिरबारे नैराश्यता केही हदसम्म बुझाइदिएजस्तो लाग्यो।
डेरिडा भन्छन्, ”फोटो खिच्नु मृत्युबोधको अनुकरण हो।”
मैले नारायणीमा बगेका ठुटाहरु हेर्दै, डेरिडाको अनुहार सम्झेँ।
हामीमध्ये धेरैले बितेका पललाई तस्विरमा कैद गर्छौँ, किनकि हामीलाई थाहा छ, यो क्षणभङ्गुर छ। सल्केको चुरोटझैँ, यो बिस्तारै जल्दै छ, सिद्धिदै छ। फोटो नखिच्नु, जीवनको शास्वत्तामा विश्वास गर्नु हो। यो नित्य रहन्छ भनी मान्नु हो। सायद यसै धारणामा अडिग रहेर होला, म फोटोग्राफीप्रति कत्ति पनि संवेदनशील थिइनँ। तर आजभोलि म तस्बिर सङ्कलनमा केन्द्रीकृत हुनुले मलाई झस्क्याएको छ। म अलिक गम्भीर बनेको छु।
यद्दपि, मेरो आडमा फोटोसेसनमा रमाइरहेका युवा-युवतीको मुहारमा म मृत्युबोध देख्दिनँ।
सायद डेरिडाले अचेतन मनको कुरा गरिरहेका थिए।
“दादा! हजुर अलि उता सर्दिनुस् न”, मायालु स्वरमा एउटी सानी नानीले भनिन्।
“फोटो खिच्नु पर्यो।”
म मेरा सोचाइबाट मुक्त भएँ। अपरिचित उनको चम्किलो मुहारले मलाई जीवनप्रतिको प्रेम स्पष्ट गराइदियो। मनमनै धन्यवाद दिएँ। मास्कभित्रैबाट हाँस्दै म अलिक पर सरेँ ।
“आजकलका बच्चाहरु… !” उनकी आमा भन्दै थिइन्।
म अब माथि हरिया पहाड र चराहरु हेर्न थाले। यस्तो लाग्यो, प्रकृतिमा सबै उन्मुक्त छन्। गज्जबको परिदृश्य थियो।
सन्ध्यामा पश्चिमपट्टि अस्ताउन लागेको घाम, नारायणीको शीतलता र पानीमाथिका छालहरू, चितवनको सुन्दरताको सही अनुभूति आजै भएको थियो, मलाई। मौनतामा एकछिन बादल नियालेँ।
“अमृत!”, पछाडिबाट साथीले बोलाइन्।
चटपट ल्याएकी रहिछन्।
“लौ, यो तिम्लाई !,”
हातको अम्बा मतर्फ तेर्स्याइन्। मैले हाँस्दै अम्बा टिपेँ!
लेखकको सम्वन्धमा