September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

मैले त कानुन पढ्नै पर्छ ।

 सोझो र सिधा आँखाले संसार नियाल्ने मेरो बानी 
 हरेक कुरालाई राम्रै राम्रो देख्ने मेरो सोचाइ 
 संसारको वास्तविक स्वरूप के रहेछ बुझ्न 
 मैले त कानुन पढ्नै पर्छ ।
  
 अश्लिल सत्यजस्तो देखिएको भित्री तथ्य बुझ्न 
 निर्दोष देखिने मुहारको आन्तरिक कूटिलता बुझ्न 
 कठोर र निर्दयी लाग्ने मानिसको कोमल सच्चाइ बुझ्न 
 मैले त कानुन पढ्नै पर्छ ।
  
 जे देखिन्छ सायद त्यो साँच्चै हुन्छ भन्ने छैन बुझ्न 
 हरेक जीवनका दुवै पाटा नियाल्न 
 दबेर रहेका सत्य-तथ्यलाई उजागर गर्न 
 मैले त कानुन पढ्नै पर्छ ।
  
 'परोपकार पुण्याय पापाय पर पीडानम' बुझ्न र बुझाउन 
 पुरूष प्रधान समाजलाई नारीको शक्ति चिनाउन 
 नेपालको कानुन ईश्वरै जानुन भन्ने कथन बदल्न 
 मैले त कानुन पढ्नै पर्छ ।
  
 'न्याय नपाए गोरखा जानू' भन्ने भनाइलाई
 'न्याय नपाए नेपाल जानू' भन्ने बनाउन
 चाडक्यको नीति बुझाउन
 मैले त कानुन पढ्नै पर्छ ।
  
 विदुरको जस्तो निति, नियम बनाउन 
 कानुनको भित्री उद्देश्य, रहस्य र मर्म बुझ्न 
 अन्यायमा परेकालाई उचित न्याय दिलाउन 
 मैले त कानुन पढ्नै पर्छ ।
  
 'सत्यमेव जायते' बुझ्न र बुझाउन 
 कानुनमा आमूल परिवर्तन ल्याउन 
 मैले त कानुन पढ्नै पर्छ ।