April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

केही टुक्रा मुक्तक

 १
 काँडासरि भएछ जीवन 
 शूल बनी घोच्ने जीवन 
 भिख भई हत्केला थाप्ने 
 कस्तो कायर भएछ जीवन ।  
 २
 न्याय कुल्चने पैतालाझैं 
 अपराध लुकाउने गल्छेडाझैँ 
 रित्तो सन्दुस भएछ जीवन 
 नैतिकता बेच्ने तराजुझैं ।
 ३
 सागर र महासागरबाट 
 नुन, सुन र फलामबाट 
 मनुष्यत्व हेर्ने दुरबिन ठान्थेँ 
 हरे ! आगो निस्कन्छ फूलबाट । 
 ४
 श्रमसँगै मूल्य खोज्ने 
 पसिनाको पौरख खोज्ने 
 मगमगाउँदो बासना बनी 
 काँडा काँडामा जीवन खोज्ने । 
 ५
 नैतिकता र इमानको
 अर्को नाम हो जीवनको 
 तर, रोला न्यायालय स्वयम् 
 भिक्षा माग्दै न्यायको । 
 ६
 भन्दै गर्छु बार बार
 हट्दै जाओस् अन्धकार
 निल गगनझैँ गहिरो
 नदी हो यो जीवन-सार ।