मलाई एउटा चिता बनाउन मन छ
त्यही चितामा तिमलाई जलाउन मन छ
एउटा मन 'आ होस्, भैगो छोड्दे' भन्छ
अर्को मन 'होइन, दे–दे' भन्छ
खोइ के गरूँ गरूँ ?
यो मन घरी के भन्छ भन्छ
छोड़नु हुँदैन दे–दे भन्छ
मलाई एउटा चिता बनाउन मन छ
त्यसैमा तिमलाई जलाउन मन छ
बनाउनुछ एउटा भीमकाय चिता
जलाउनुछ सबलाई पालैसित
किन हो किन रिसले आँखै देखिनँ मैले
खोइ कसलाई जलाऊँ हो पैले
यसो नम्बर लगाउँदै जान्छु
पालो मिलाउँदै जान्छु
त्यसलाई हालूँ कि
यसलाई हालूँ भन्छु
यसो गम खान्छु,
अहँ
बिषको उन्नाइस भेट्दिनँ
सबै बिसै बिस मात्र भेट्छु
कसो गरूँ के गरूँ ?
यो चिता भरूँ कि नभरुँ ?
एक मन भन्छ 'भर भर'
अर्को मन भन्छ 'भो हुन्दे त्यसो नगर'
त्यही त, फेरि कसरी हालूँ चितामा
काम न काजकाहरूलाई बित्थामा
चिताको पनि त इज्जत हुँदो हो
उसको पनि त आत्मा कति रुँदो हो
उसलाई जलाउन
म पनि नजलि नहुने
ऊ जल्दा सबै रुने
म जल्दा कोही नरुने भन्दो हो
बिचरो म कति विवस छु
जङगलमा रुख भई बस्छु
चितामा खरानी भई खस्छु
आज फेरि मेरो पालो आएछ जल्ने
चिताग्नी भई दनदनी बल्ने
किन आज ममाथि
यी असुरहरूको
पापी दैत्य मानवहरूको
यत्रो बिघ्न थुप्रो
कोही छन् तरुण–तन्नेरी
कोही बुढो कुप्रो
काटी हातखुट्टा चिरी पेटछाती
मिलाई मिलाई राख्छन् आर्यघाट माथि
पाप र धर्मको ख्याल नभएकाहरू
सेवा र कर्मको बिचार नभएकाहरू
प्रेम र सद्भाव हराएकाहरू
बुद्धि र विवेक बन्धक बनाएकाहरू
नीति र सिद्धान्त पोली खाएकाहरू
देश बेची शेष बनाउन उद्दत पिपासुहरू
घरी काम भन्दै घरी नाम भन्दै
घरी रुखÞ भन्दै घरी घाम भन्दै
गोरू झैं जनता जुधाउनेहरू
सडकमा बानर बनाई कुदाउनेहरू
आफु र आफ्नालाई भन्दै ढुकुटी लुटाउनेहरू
घरै बसी घर फूटाउनेहरू
सत्र हजार लास माथि रमाउनेहरू
सत्तामा बसी कमाउनेहरू
नाम चाहीं राम, काम हराम भएकाहरू
लाज–घीन डर सरम नभएकाहरू
सबै लबस्तराहरूलाई
समाएर पालैपालो
त्यही चितामा जलाउन मन छ
मलाई एउटा चिता बनाउन मन छ
एउटा मन आ ! होस भै’गो छोड्दे भन्छ
अर्को मन होईन दे–दे भन्छ
खोई के गरूँ गरूँ ?
यो चिता भरूँ की नभरूँ ?
एक मन भन्छ भर भर
अर्को मन भन्छ भो हुन्दे त्यसो नगर !!
लेखकको सम्वन्धमा