June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

मेरो आक्रोश

 मलाई थाहा छ यो चुनावमा पनि नोटसँग भोट साटिन्छ 
 एक चोक्टा मासु र सुकुटीमा अहिलेको चोट काटिन्छ
 अहिले भाटा ठिक गर्छु भन्नेहरू कुकुरझै पछि पछि लाग्छन् 
 यत्रा रिस र आवेगहरू नेता देखेपछि कहाँ भाग्छन् भाग्छन्  
 गल्ली गल्लीमा उनीहरूका झन्डा तेर्स्याइन्छ
 भोट दिन्नँ भन्नेहरूलाई खोजी खोजी ल्याइन्छ 
 सत्ता पाउने आशामा होस् या सत्ता टिकाउने आशामा 
 राजनीतिको इंजेक्सन हालिन्छ जनताको नसा नसामा 
 माथ्लो घरको दाइसँग बोलचाल नै रोकिन्छ
 अर्को पार्टीको मान्छे देखें बाटैमा ठोकिन्छ 
 तल्लाघरे काका राष्ट्रघाती रे माथ्लो घरे पक्षपाती रे 
 यो त भन्ने कुरा मात्रै रहेछ नेताभन्दा जनता माथि रे 
 कालो धन जति सबै स्विस बैंकमा लुकाउँछौं  
 दुखेको नेपाल आमाको मन अझै कति दुखाउँछौ? 
 गाउँ गाउँमा आउँछौ राष्ट्रभक्तिको नारा लाउँछौ 
 तिमीलाई मन्त्री बनाएर खै हामीले के पाउँछौं? 
 खै तिमीलाई तिम्रो मानवताले कसरी दिन्छ? 
 रगताम्मे घाइते छोडेर मन्त्री त्यही बाटो हिँड्छ 
 तिम्रा आसेपासेहरू जेल बस्नुपर्दैन यहाँ 
 अन्याय भो जनतालाई खोज्न जाने न्याय कहाँ? 
 जिउँदै मान्छे जलाउने तिम्रो सुरक्षामा बस्छ 
 आरोप लाग्छ जनतामा बिचरो निर्दोष फस्छ 
 सीमा नागिसक्यो नेताज्यू तिम्रा कुकृत्यले अब 
 त्यतिबेला थाहा पाउँछौ जनता जाग्छन् जब
 सदनबाट तिमीलाई कुट्दै लखेटेको दिन  
 याद गर चुकाउनु छ सारा नेपालीको ऋण।