January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

न्याय खोजिरहेका निर्दोष शिक्षक

विभिन्न आरोह र अवरोह पार गर्दै समय आज एउटा विशेष परिस्थितिमा आइपुगेको छ । हरेक वर्षझैँ त्यही असार २४ घुमेर आएको छ, जुन दिन एक होनाहार, निर्दोष नेपाली गुरुको हत्या भएको थियो । २०५५ साल असार २४, तिथिको हिसाबले त्यो वर्ष गुरु पूर्णिमाकै दिन तत्कालीन सरकारद्वारा गरिएको क्रूर पाशविक श्वेत आतङ्कको एक उदाहरण थियो, निर्मम् र मानवअधिकार विरोधी हर्कत थियो । गोरखा जिल्ला सूर्य ज्योति माविमा अध्यापनरत नेपाली शिक्षक गुणनिधि देवकोटाको हत्या असार महिना बर्खेबिदाको समयमा दिनभरि खेतमा काम गरेर राती घरमा सुतिरहँदा स-साना ३ बच्चा, श्रीमती र बुढा बुबाको काखबाट खोसेर घरनजिकै जराङ खोलामा लगी निस्पट्ट अँध्यारा रातमा गोली हानेर हत्या गर्छन् । गोलीको आवाज घरसम्म सुनिएको हुन्छ तर निर्दोष व्यक्तिको हत्या भयो भन्ने सोच्न सक्ने स्थिति नै थिएन ।

आज २४औँ वर्षसम्म पनि यो अमानवीय हर्कतविरुद्वको हाम्रा आवाजहरूको कहीँ कतैबाट सुनुवाइ भएको छैन । मनभरि पीडा र विद्रोह छचल्किरहेका छन्  तर  चित्त बुझाउने आधार कहीँ कतै नभएको आभास हुन्छ । आफ्नो परिश्रमभित्र रमाइरहेको एक इमानदार शिक्षक जो सरलता र उदारताको पर्याय हुनुहुन्थ्यो । देशमा बहुदलीय व्यवस्थाको सुरुवातसँगै कुनै पार्टी वा सङ्गठनमा नैतिक रूपमा समर्थन गर्नु अन्यथा होइन । सदियौँदेखिको एकतन्त्रीय जहानिय राणाशासन र पञ्चायती शासनको अन्त्य गर्दै बहुदलीय व्यवस्था र प्रजातन्त्रको अभ्यास भइरहेको अवस्थामा खासै परिवर्तन हुन नसकेको शासकीय शैली जनताको जीवन स्तर र राष्ट्रिय सार्वभौमिकताका मुद्दाहरूलाई हरहालतमा संस्थागत गर्ने भन्ने उद्देश्यका साथ तात्कालिक नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट देशमा प्रतिक्रियादावी राज्यसत्ताविरुद्ध सशत्र जनयुद्धको घोषणा गरेको थियो । जनताको आत्मनिर्णयको अधिकार, न्याय, स्वतन्त्रता विधि र आम जनताको मुक्तिका लागि भनेर सारा गाउँपाखाका किसान, मजदुर, महिला, जनजाति, शिक्षक, बुद्धिजीवीहरू भौतिक, नैतिक र सम्पूर्ण व्यक्तिगत जीवनको खुसीलाई तिलाञ्जली दिएर युद्धको मैदानमा होमिन तयार भयो । जनताको त्यो साथ, एकता नेतृत्त्वहरूलाई सुखसयल र विलासिताको जीन जिउने हैसियतमा पुर्याउनका लागि थिएन । आम नेपालीको जीवन परिवर्तनका लागि राष्ट्रिय स्वाधीनताका लागि थियो ।

सशस्त्र जनयुद्धका पहिलो निसानी गोरखा जिल्लाको एउटा दुर्गम रमणीय गाउँ ताकुकोट र त्यही अवस्थित सूर्य ज्योति मावि बन्नपुग्यो । २०५२ फागुन १४ गते उक्त माविका प्रअलाई गिरफ्तार गर्ने नाममा ती अबोध विद्यार्थीमाथि अन्धधुन्ध बर्साइएका गोली लागेर दिलबहादुर रमतेलको हत्या हुन्छ । अर्का भाइ रामप्रसाद भट्ट (घाइते) गोली निकालेर बाँच्न सफल हुन्छन् । देशभरि युद्ध र आतङ्क त छँदै थियो २०५५ असार २४ गते घरमा सुतिरहेकै ठाउँबाट लगेर स्कुल जने बाटामा गोली हानेर सेनाद्वारा गरिएको त्यो हत्या कुनै पनि कोणबाट तर्क र न्यायसङ्गत त थिएन । बरु मानवअधिकारको ठडो हनन् थियो । मैले यी २\४ शब्द लेख्दै गर्दा लेख्न सिकाउने आदरणीय गुरु, नातामा मामा भएर पनि नितान्त नजिकका अभिभावक, प्रेरणाका स्रोत त्यसै दिन गुमाएकी थिएँ । पुत्रवियोगको पीडामा परेपछि वृद्ध हजुरबाका आँखाका आँसु नसुकी उहाँको जीवनलीला समाप्त भएको थियो । माइजूले यस निकृष्ट घटनाको न्याय खोज्ने क्रममा धेरै दुःख र हन्डर खानुभयो । क्यानसरका कारण उहाँको पनि अल्पायुमै निधन भयो । त्यसबेला ठुला भाइ ईश्वर देवकोटा नै १३ वर्षमुनिका थिए । अरू भाइबहिनीहरू उनीभन्दा साना थिए । अन्याय बुझेर पनि उनीहरूसँग केही गर्ने सामर्थ्य थिएन । न्याय पाउने आशामा उनीहरू मनभरि पीडा र अवरुद्ध गला अनि चट्टानजस्तो स्थिर र बलियो मन सम्हालेर बसेका थिए । आज पनि मलाई ती भाइबहिनी मुसुक्क हाँसेको देख्दा मामाको याद आउँछ । मनभित्र धेरै कुरा भए पनि उनीहरूसँग मामाका बारेमा बोल्न कुनै शब्द आउँदैन ।

सायद एक अभिभावक, शिक्षक र पछि सहकर्मी भएर धेरै नजिक भएर नै होला त्यस सम्झनाले आज पनि पीडा दिइरहन्छ । कक्षामा पढाउँदा होस् वा अन्य अनौपचारिक कुराकानीमा उहाँ भन्ने गर्नुहुन्थ्यो, “मान्छे भएर आफ्नो व्यक्तिगत जीवन मात्र जिउनुको कुनै अर्थ हुँदैन । आफू मात्र त चरा, मुसा पनि बाँच्छन् नि । अरूका लागि, समाजका लागि र धेरै मानिसहरूका लागि केही गर्नु नै साँचो अर्थमा मान्छे हुनु हो ।”

गुणनिधि देवकोटा (२०१८ जेठ – २०५५ असार २४)

आज कता कता हामीले उहाँको न्यायका लागि केही गर्न सकेनौँ कि जस्तो लाग्छ । उहाँकै सल्लाहमा शिक्षण पेसा सुरु गरेको पनि २८ वर्ष भएछ । २०४८ सालमा सोही सूर्य ज्योति माविमा एसएलसी पास गर्नेबित्तिकै शिक्षण पेसामा आबद्ध भएको थिएँ । मुख्य विषय अङ्ग्रेजी राखेर मामाकै सल्लाहअनुसार शिक्षा सङ्कायमा भरना भएको थिएँ । आज जुन अवस्थामा म छु त्यसमा ५० प्रतिसत बुबाआमा र ५० प्रतिसत आदरणीय मामा गुणनिधि देवकोटा र सूर्यज्योति माविका तत्कालीन आदरणीय गुरुहरूकै योगदा रहेको छ । विद्यालयदेखि नै शिक्षा पढेको र शिक्षण पेसामा लामो समयसम्म आबद्ध भएका कारण यहाँको शिक्षा क्षेत्र, यसमा भएगरेका अभ्यास र प्रयासलाई सूक्ष्म रूपमा नियाल्दा झनै पीडाबोध हुने गर्छ । समाज परिवर्तनका लागि भनिएका विभिन्न आन्दोलनमा समाजको सचेत वर्ग शिक्षकको महत्त्वपूर्ण भूमिका रहन्छ नै ।

नेपालका पछिल्ला राजनैतिक घटनाक्रम नियाल्दा २०६२ साल मङ्सिर ७ गते निरङ्कुश राजतन्त्रविरुद्ध ७ संसदवादी दल र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबिव १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भयो । उक्त पत्रको मुख्य विषयवस्तु संसदवादी दलहरू संविधानसभामा आउने र द्वन्द्वरत माओवादी पार्टी शान्तिपूर्ण आजनीतिमा आउने भन्ने थियो । त्यही समझदारीका आधारमा २०६२ साल चैत २४ गतेबाट सशक्त आन्दोलन भयो । १९ दिनसम्म चलेको आन्दोलनका कारण २०६३ वैशाख ११ गते संसद पुनस्थापना भयो । २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भयो । नेकपा माओवादी पहिलो पार्टी बन्यो । २०६५ जेठ १५ गते औपचारिक रूपमा गणतन्त्रको घोषणा भयो ।

यी पछिल्ला समयसम्म आइपुग्दा नेपाली जनमानसमा देश गणतन्त्रमा गयो । समग्र राज्य र आम मुक्तिकामी जनताहरूका जीवनमा सोचेको परिवर्तन ल्याउनका लागि नेतृत्वबाट पहल हुने छ भनेर केही आशाको सञ्चार भयो । तर समय त्यस्तो रहेन । हिजोका ती चट्टानी अडान परिवर्तन र मुक्तिका खातिर भएका यस्ता कहालीलाग्दा बलिदानीहरू फिक्का बन्दै गए । सरकारमा पुग्ने र सत्तामा टिक्ने अभीष्टमा जनतासँग बाँडिएका सपनाहरू हल्का र फिक्का हुँदै गए। शान्ति सम्झौतापश्चात नै युद्धका समयमा विभिन्न झुटा मुद्दा लगाएर वा यो वा त्यो बहानामा विस्थपित भएका शिक्षक कर्मचारी र सम्पूर्ण विस्थपितहरूको व्यवस्थापन गर्नुपर्ने कुरा कहीँ कतैबाट सम्बोधन हुनै सकेन । द्वन्द्वपीडित, सहिद परिवार, विस्थापितहरू पार्टी र नेतृत्वबाट टाढा हुँदै गए । अवसरका खोजीमा पुग्ने कार्यकर्ताहरूको घेराबन्दीमा नेतृत्व र पार्टी पर्दै गयो । जसको परिणाम हिजोका दिनमा पार्टीलाई ज्यान दिन तयार भएका आमजनता र कार्यकर्तामा निराशा बढ्दै गयो भने सरकारमा पुगेका शीर्ष नेताहतरू आत्मकेन्द्री, स्वार्थी र विलासी बन्दै गए । त्यसकै परिणाम आज तिनै मुक्तिकामी जनताको जीवनस्तर रूपान्तरणका लागि सङ्घर्षरत माक्सवादी दर्शनमा आधारित कम्युनिस्ट पार्टीका नेतृत्वहरू देशमा निरङ्कुश शासकमा रूपान्तरित भए र सिङ्गो देश नै अन्धकारतिर धकेल्ने हर्कत गर्नसम्म पछि परेनन् ।

आदरणीय नेपाली गुरु गुणनीधि देवकोटालगायत सयौँ सहिद तथा बेपत्ता योद्धाका परिवार, घाइते, अपाङ्ग तथा विस्थापितहरू देशमा न्याय, सुशासन र विधिको शासन स्थापित भएको हेर्ने रहरमा तड्पि नै रहेका छन् । अंश अंशमा हेर्दै जाँदा पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षाजस्ता क्ष‍ेत्रहरू भौतिक प्रशासनिक अवस्था दिनानुदिन रुग्ण बन्दै गइरहेका छन् । जनताको त्यो विश्वास, बलिदानी, त्याग र समर्पणका परिणमस्वरूप प्राप्त गणतन्त्रको अन्तरवस्तुलाई आत्सात् गरेर गणतन्त्रको मूल्यमान्यताभित्र रहेर देश अगाडि बढाउने प्रढ सम्पूर्ण गणतन्त्रका पक्षधरहरू र अग्रगामी प्रगतिशील नेतृत्त्वहरूले गरे मात्र सहिदहरूलाई केही  न्याय भएको आभास हुने छ । अन्त्यमा आदरणीय मामा गुणनिधि देवकोटालगायत सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।