साहित्यको सिर्जना
प्रिय चन्द्र,
तिम्रो साहित्यको परिचय र महत्त्वबारेका दुवै पूर्वआलेखका निमित्त धन्यवादसहित साहित्यको सिर्जना कसरी गर्ने भन्ने यसका सिर्जनाको तरिका बारेमा पनि लेख्ने अनुरोधसहितको पत्र पाएको निकै दिन भयो । यसपाला मैले तात्तातो जवाफ लेख्न सकिनँ, तिमीलाई थाहै छ, बिरामी भएर । ठुला मान्छेको भए “जेमद्वार पुगेर आएको,” अथवा “मृत्युलाई परास्त गरेर आएको” भनेर निकै ढिँढोरा पिटिन्थ्यो होला । तर मेरो र मजस्ताको सङ्घर्ष मृत्योन्जयी नै भएपनि आफ्नै होसहवास गुम्लाजस्तो हदमा पुगेका परिवारका सदस्य र उपचारमा सम्लग्न केही चिकित्साकर्मी शुभचिन्तकबाहेक न कसैका मतलबको कुरा भयो न हो । त्यसैले महिना दिन रोगसँग, दुई–चार महिना कमजोरीसँग लाप्पा खेलेर बल्ल कलम समात्ने सोचेको, सोचेको सोचेकै भएँ । कारण साहित्यको सिर्जनाजस्तो वृहत् विषयमा यस्तो छोटो आलेखमा कसरी लेख्ने होला भनेर सुझ्दै सुझेन । त्यसैले ढिलो भएकोमा अन्यथा नमान्न भनेको छु ।
साहित्यको सिर्जना कसरी गर्ने भन्ने कुरा मेरा अनुभवमा यसको परिचय र महत्त्वजस्तो प्राज्ञिक अथवा शास्त्रीय विषयमात्र होइन । किनकि यो एउटा साधना वा अभ्यासजन्य प्राविधिक कुरासमेत हो र अझ बढीचैँ भावनात्मक कुरा हो । अझ ठेट भाषामा जस्ताको तस्तै भनूँ भने यो प्रश्न प्रेम कसरी गर्ने भनेजस्तै हो जो संयोग वा परिबन्द परेपछि स्वत हुनथाल्छ । अर्को शब्दमा भनूँ भने भानुभक्तलाई ‘भरजन्म घाँसतिर मन दिई …..’ भनेर लेख्न कसले सिकाएको थियो र ? अथवा आजीवन बटुवालाई लुटेर प्रौढवयमा सद्दे बनेका वाल्मीकिलाई मैथुनरत क्रौन्चपक्षीको भाले व्याधाको वाण लागेर काँकाँ गर्दै अचानक भुइँमा पछारिँदा ‘मा निषाद प्रतिष्ठा त्वमगम ….’ भन्ने काव्यपङ्क्ति कसले सिकाएर आएको थियो र ? हाम्रा गाउँघरमा गोठालोखेतालो जाँदा पारिघर कान्छीलाई देख्नासाथ कान्छाले
‘कान्छीको ज्यानमा छिटको सारी के राम्रो सुहाको,
त्यै हेर्न होला यसरी मलाई दैवले जुराको !’
भन्न कसले सिकाएको होला र ?
भावना फुरेपछि जरुवाको मूल फुटेझैँ ओइरिनथाल्छ मनको उकुसमुकुस कविता वा गीत वा कथा वा नाटक वा निबन्ध बनेर जसरी हाम्रा धेरैजसो अग्रज स्रष्टाहरुलाई भएको थियो ।
त्यसैले त साहित्यकार, खासगरी कविलाई जन्मजात वा सिर्जित कवि र निर्मित वा आभ्यासिक कवि गरी दुई कित्तामा पारेर चिन्ने गरिन्छ ।
जन्मजात कवि कसैले नसिकाई कवि बनिन्छ भने निर्मित कवि सिकेर अभ्यासद्वारा कवि बनिन्छ । हाम्रा कविहरुमध्ये लक्ष्मीप्रसाद देवकोटालाई जन्मजात कवि भनिन्छ र बालकृृष्ण समलाई आभ्यासिक कवि । देवकोटा छाँगो झरेझैँ कविता लेख्तै जान्थे भने बालकृष्णचैँ एक लाइन लेख्यो, त्यसलाई पढ्यो, कतिपय शब्द फेरबदल गर्यो, फेरि पढ्यो, फेरि अदलबदल गर्यो र बल्ल अर्को लाइन थप्यो र त्यसलाई पनि त्यसैगरी पढ्यो, जाँच्यो, मिलायो र त्यसो गर्दै कतिबेरको सङ्घर्षपछि एउटा कविता तयार गर्थे जब कि देवकोटाले आँखो झिमिक्क गर्दा दशौँ कविता लेखिसकेका हुन्थे ।
तर कुरा त्यतिमात्र चैँ होइन । साहित्यको सिर्जनामा भएदेखि साहित्य के हो (हरेक विधासहित) र साहित्य किन भन्ने कुराको आधारभूत ज्ञानसहित यति धेरै सीप र तरिका चाहिन्छ सायद त्यति केहीमा चाहिँदैन । प्रेममा जस्तै जो कहिल्यै जानिसकिँदैन । सोर–अठार वर्षमा बिहे भएर पचहत्तर–असी पुगुन्जेल पनि जानिसकिँदैन । अर्थात् यसका यति धेरै आयाम हुन्छन् सयपत्रीका पत्रैपत्र कहिल्यै गनिनसकेझैँ साहित्य सिर्जना सम्पूर्ण कहिल्यै जानिसकिँदैन । तैपनि मैले यहाँ केही खासखास कुरा टिपनटापन गर्ने जमर्को गरेको छु । विस्तृत ज्ञानका लागि त अध्ययन गर्नैपर्छ ।
पहिले कविताको कुरा गरुँ :
कविता भनेको संसारका कुनै पनि विषयमा कलात्मक पाराले रमाइलो लाग्ने गरी भनिएको भनाइ हो ।
बाख्राका पाठा हेर न त्यसैै के राम्रो खेलेका,
आपसमा मिली ठेलाठेल गर्दै कसरी चलेका !
तैपनि हाललाई अस्तिको पहिलो आलेखमा गरिएको चर्चा सम्झिँदा यो कस्तो हुनुपर्छ भन्ने बुझ्न र त्यसपछि त्यस्तो कसरी लेख्ने त भनेर विचार गर्न सजिलो हुनुपर्ने ।
त्यसअनुसार कविता आम बोलचाल वा लेखनको जस्तो सामान्य अभिव्यक्ति होइन । यो मुलत बनोटमा भिन्न हुन्छ । त्यसैले यसमा लोली मिल्ने गरी, अलङ्कार हुने गरी भरसक मिल्दो र अमिल्दो बिम्ब वा प्रतीक शब्द चुनेर राखिएको हुन्छ । जस्तो यो भनाइ छोरी बढेपछि घरका आसपास केटाहरु डुल्नथाल्छन् भन्नु सोेझो बोलचाल हो तर फूल फक्रिएपछि भमरा डुल्नथाल्छन् भन्नु बिम्ब त्यसैले काव्यिक हो । यसले कुनै नौलो वा अनौठो वा स्वादिलो वा सामान्य तर याद गरिनराखेको वा कुनै असामान्य विशेष वस्तु, कार्य, स्वभाव वा विषयमा कुनै सन्देश वा खास कुरा वा व्यङ्ग्य वा कविको कौतूहलमात्र पनि प्रस्तुत गर्छ । यसरी भिन्न र स्वादिलो पारेर सजाउनुलाई व्यन्जना भनिन्छ (जसरी खानेकुरालाई अनेक मरमसला मिलाएर पकाउँदा पनि भिन्न तरिकाले विशेष स्वादिलो हुने गरी पकाइन्छ र त्यसलाई व्यन्जन भनिन्छ ) । यसरी कुनै उल्लेखनीय विषयमा बनोटमा पनि र अर्थमा पनि भिन्न र विशेष चखिलो पारेर लेखिएको हुँदा यो रसिलो, रमाइलो, अनौठो, आकर्षक, विशेष अर्थपूर्ण, आनन्ददायक र झन् गहिरो अर्थको उत्पादन हुन्छ र यसबाट भनाइमा पनि झन् जोड प्रकट हुन्छ ।
साथै एउटा बीउका गेडामा विशाल रूख लुकेको भएझैँ कविताका थोरै शब्दमा अत्यन्त धेरै कुरा लुकेको हुन्छ ।
साहित्यका मुख्य चार विधा कविता, कथा, नाटक र निबन्धमध्ये कविता सबैभन्दा सानो र छोटोदेखि अत्यन्त लामो पूरा पोथी नै हुनसक्ने विधा हो । तर सामान्यत कविता भन्नाले सय–दुईसय शब्दको फुटकर सिर्जनालाई नै मानिन्छ । लामा पुस्तकाकारमा भए ती कविताको स्वरूपमा रचिएका आख्यान(जसलाई खण्डकाव्य वा महाकाव्य वा नाटक भनिन्छ ।) हुन्छन् ।
यस्ता फुटकर कविता सामान्यत गेय (गाउन मिल्ने)रचना मानिन्छन् ।
यस्ता फुटकर कविता मुख्यत तीन स्वरूपका हुने गर्दछन् : गद्यकविता, पद्य वा छन्दोबद्ध कविता र गीती वा लोकछन्द÷भाकाका कविता ।
गद्यकविता —
जस्तो सामान्य बोलचालमा
‘साँघुरो गल्लीमा मेरो चोक छ जहाँ छैन भन्ने केही छैन सबैथोक छन् । त्यहाँ असंख्य रोग छ, अनन्त भोक र असीम शोक छ । तर त्यहाँ हर्ष भने छैन किनभने हर्षलाई त्यहाँ रोक छ ।’
यहीे भनाइलाई कवितामा कविले यसरी भनेका छन् :
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
असंख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ
केवल हर्ष छैन
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ । ….–भूपि शेरचन
पद्यकविता—
‘दिनहूँ हाकिम आउनुहुन्छ तर हाम्रो पीडाको कुनै वास्ता गर्नुहुन्न । रातभरि लामुखुट्टे र उपियाँले कराएर, टोकेर सताउँछन् । त्यसैले सारै
दुखमा बाँच्नुपरेको छ ।’
भनेर एउटा झ्यालखान परेका मान्छेले झ्यालखानको दुखबारे भनेको कुरा कविले यसरी भनेका छन् :
रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु ।
रात्भर नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा म छु ।।
लाङ्खुट्या उपियाँ उडूस् इ सँगी छन् इन्कै लहडमा बसी ।
लाङ्खुट्याहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।।–भानुभक्त आचार्य
दुवै भनाइ सामान्य भए रूखो, कर्कश, आरोप, गुनासोजस्ता सुनिने थिए र सम्बन्धित मान्छेलाई अबगाल पार्न खोजेको जस्तो लाग्ने र त्यो मान्छे रिसाउने खण्ड पनि पर्ने थियो । तर कविता हुँदा यो आम यथार्थ र हँसी, मजाक गरेजस्तो सुनिन्छ तर भन्नचैँ कवितामा झन् कडा गरी भनिएको छ जसले ऐनामा प्रतिबिम्बित वस्तुको वस्तुतासरह समसामयिक यथार्थ पनि प्रकट गरेको छ ।
गद्यकविताको छन्द हुँदैन तर त्यसको पङ्क्ति रचना आम गद्यभन्दा फरक किसिमले गरिएको हुन्छ त्यसैले गीतजस्तै आफ्नै खालको विशेष ध्वनिप्रवाह बनिनजान्छ । जस्तो माथि भूपीका कविताको उदाहरण ।
यस्ता गद्य कविता कुनै विषयमा सम ध्वनि(अनुप्रास), समानार्थी शब्द, समस्वरूपका पंक्ति, आवश्यकतानुसार वैकल्पिकता÷विपरतिता(अर्थ, ध्वनि, पंक्तिस्वरूप इत्यादि सबैमा) पारेर रचना गरिन्छ । जस्तो माथिको उदाहरणमा प्रथम दुई पंक्ति समान लमाइका छन्, दुवैमा अन्तिम ध्वनिसाम्यता छ । त्यसपछि तीन पंक्ति तीनतीन शब्दका छन् । तिनको पहिलो शब्दमा संख्या वा परिमाण जनाउने भिन्नभिन्न विशेषण प्रयोग भएका छन् जसबाट परिमाणमा अत्यन्त जोड पुगेको अनुभव हुन्छ । तर दोस्रो शब्द रोग, भोक, शोक तीनैवटामा अनुप्रास छ र तीनैवटामा मानवीय पीडा जनाउने अर्थ साम्यता छ । तेस्रोमा चार शब्द छन् र यसमा अगिल्ला ३ मा भएको छ को विपरीत छैन र फेरि छ नै छ । अन्त्यमा सुरुका दुई पंक्तिकै पुनरावृत्तिले पूरा परिच्छेदलाई एउटा पूर्ण वृत्त पारेको छ भने ‘रोक छ’ शब्दले अनुप्राससहित विपरीतता बुझाएर अर्थ र अभिप्राय दुवैमा सख्त जोड पु¥याएको छ । यसले आकर्षणमा पनि र सम्झनामा पनि दीर्घ प्रभाव पार्छ ।
यहाँ प्रस्तुत पद्यकविता शास्त्रीय छन्द शार्दूलविक्रीडित छन्दमा लेखिएको छ । यसमा १९ वर्णका प्रत्येक दुइ पंक्तिको एकजोडा हुन्छ जसमा अन्त्यानुप्रास अनिवार्य मानिन्छ । सकेसम्म बिम्बविधान र अन्य अलङ्कार पनि प्रयोग गरिन्छ । यहाँ अत्यन्त सुख पाएको बिम्बमा अत्यन्त दुख पाएको आक्रोश पोखिएको छ । यसबाट सर्वसाधारणको जीवनलाई त्यस कालका ठुलाबडा कति हेय मान्दारहेछन् भन्ने यथार्थ पनि खुलेको छ ।
छन्द सयौँ खाले हुन्छन् । यसमा छन्दअनुसार गण भनिने ह्रस्व वा दीर्घ अक्षरको संख्या तोकिएबमोजिम कविको अभिप्राय व्यक्त गर्न मिल्ने शब्द चुनेर राखिन्छ । यसबारे पनि विस्तृत अध्ययन चाहिन्छ ।
मुक्तक—
मुक्तक पनि फुटकार कविताको एउटा खुब लोकप्रिय विधा हो । यसको पनि सिद्धान्त त उस्तै हुन्छ गद्यपद्य कविताको जस्तै र यो गद्यमा वा छन्दमा पनि लेखिनसक्छ । तर यो चार पंक्तिको एक अनुच्छेद मात्र हुन्छ । तिनमा पहिलो, दोस्रो र चौथो पंक्तिमा अन्त्यानुप्रास हुन्छ । पंक्तिका बीचमा पनि मध्यानुप्रास हुनसक्छ । पहिलो पंक्तिले विषय उठाउँछ, दोस्रोले त्यसमा समर्थन वा पुष्टि गरेर भावलाई उँचाइमा पु¥याउँछ । तेस्रो क्रमभङ्ग गरेर अनुप्रासरहित हुन्छ त्यसैले यसले वैकल्पिकता वा विपरीतता वा कारण, सन्दर्भ आदि समस्या अगि सारेर पाठकलाई विषयमा अत्युत्सुक पार्छ र पौडी खेल्दा तखतामा मच्चिएमच्चिएर वा कुदेर आएर फाल ढुङ्गामा उफ्रिएर अचानक फाल हानेभैmँ विष्फोटतुल्य अभिव्यक्तिद्वारा विषयको उठानलाई चखिलोसँग पूर्णवृत्त पार्छ ।
जस्तो :
उनले हेरिदिँदामात्र पनि प्रेमको स्पर्श पाएको थिएँ
उनले बोलिदिँदामात्र पनि खुसीले पागल भएको थिएँ
मलाई उनले आफ्नै मुट्ठीको माखो बनाइन् त के भो ?
मैले पनि त उनैमा घोलेर जवानीको भाङ खाएको थिएँ !–कृष्ण बाउसे
सयपत्री र सुनाखरीहरूलाई बन्दुक पड्काउन सिकाएपछि
डाँफे–मुनालहरूलाई एकार्काको गाला चड्काउन सिकाएपछि
शान्तिको कुरा के गरिसिन्छ हजुर केही थाहा नपाएजस्तो
कहाँ जोतिन्छ र खेत सधैँसधैँ हलो अड्काउन सिकाएपछि ?–प्रमद
गजल—
अत्यन्त लोकप्रिय रहेको गजल पनि फुटकर पद्य कविता नै हो जसलाई कतिजना साहित्यको भिन्न विधा पनि ठान्दछन् । तर यो पनि शास्त्रीय हुँदा छन्दमा, जसलाई बहर भनिन्छ, लेखिन्छ र गेय नै हुन्छ तर केही आधारभूत नियम पालन गरेर यो सामान्य वाचन गर्ने गरी पनि लेखिन्छ । यसमा दुईदुई पंक्तिका ३ देखि ५÷१० सेर अयगउभित हुन्छन् ।
यसबारे पनि राम्ररी जान्न यसैबारे लेखिएका जानकारीको अध्ययन गर्नुपर्छ ।
गीत वा गीती कविता—
गीती वा लोकछन्दका कविता वस्तुत गीत नै हुन् जो सर्वसाधारण मानिस लोकजीवनमा खास कवि वा रचयिताबिनै आम जनसमुदायबाट रचिने गर्दछन् जसलाई लोकगीत भन्दछन् । जस्तो :
तीनधारे ज्यानको तीनधारा पानी त्यो घैला भर्दैन ।
जीउको मासु जीउमै सुक्यो तै माया मर्दैन ।।
लोकगीत विभिन्न भाका वा लय र संरचनाका हुन्छन् जसको सीमा हुँदैन । अर्को, खास कवि वा गीतकारले रचेर संगीतकारले भाका दिएर औपचारिक रूपमा गाउने गीतलाई चैँ प्राय आधुनिक गीत भनिन्छ । जस्तो :
नेपाली हामी रहौँला कहाँ……शब्दःमाधवप्रसाद घिमिरे, संगीत र गायन नातिकाजी ।
कथा÷काव्य÷नाटक—
कथा पनि मानिसले भोगेको वा देखे–सुनेको कुनै न कुनै सांसारिक यथार्थ नै हो । तर चाहिँदो नूनमसला थपघट पारिएको, कुनै काल्पनिक पात्रले गरेको पारिएको, विशेष सन्देश वा समाचार वा रमाइलोयुक्त र त्यसैले उल्लेखनीय(आश्चर्य, आक्रोश, दुख, सुख लाग्दो इत्यादि) पारिएको मुख्य घटनामात्र वा प्राय त्यससँग सम्बन्धित ससाना घटनाहरुको शृङ्खलाबद्ध वर्णन नै कथा हो जसलाई आख्यान पनि भनिन्छ र जसलाई नाटक वा सिनेमा पारेर देखाइन्छ पनि ।
यो एकदमै छोटो सय पचास शब्दको किस्सा वा चुटुकुला पनि हुनसक्छ वा दुई–चार सय शब्दको लघुकथा वा हजार–चारहजार शब्दको कथा वा हजारौँ–लाखौँ शब्दको उपन्यास(पद्य भए खण्डकाव्य वा महाकाव्य) हुनसक्छ ।
समय, स्थान, पात्र, घटनाअनुसार संवाद, वस्त्राभूषण र स्थिति तथा कार्यमा जति सटिक तालमेल मिलेको हुन्छ कथा उति उपयुक्त र सफल हुन्छ ।
निबन्ध—
जब लेखक कुनै उल्लेखनीय विषयका हरेक पक्षपक्ष बारेमा व्यङ्ग्यात्मक वा गम्भीर शैलीमा तुलना, विश्लेषण, वर्णन वा सामान्य छलफल गर्दै लिखित रूपमा एक्लै फतफताउँछ तब त्यो निबन्ध हुन्छ ।
एक शब्दमा भन्नुपर्दा जुनै खाले कविता होस् वा कथा, निबन्ध लेख्ने, लेख्न सिक्ने एकमात्र उपाय हो अभ्यास । तीन कुराको अभ्यास— पढ्ने, पढिएका कुरामाथि विचार गर्ने र लेख्ने । अभ्यास भनेपछि प्रष्ट छ : बारम्बार गर्नुपर्छ ।
गरिहेर्ने होइन त ?
अनि कस्तो लाग्यो, लेख्नु ल ?
तिम्रो चिर शुभेच्छुक
प्रमद
*****
prakashmanidahal@gmail.com
लेखकको सम्वन्धमा