February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

जितिन्छ है कोरोना

 टेरिजा घिमिरे,  आदर्श मावि कक्षा - ७                           

 दुःखपछि सुख भन्छन्, रातपछि दिन
 आस यही गर्दागर्दै, थाकिसक्यो मन
 दुःख,पीडा,भोक,प्यास सबथोक सहेर
 बस्नु नै पर्ने कहिलेसम्म नजरबन्द भएर ?
 
 मङ्गलमा पुग्ने मनुज, आज निरीह कहलायो
 कोरोना यो भाइरसले, सर्वत्र बिचल्ली बनायो
 बसेका नै छौं घरैभित्र, छैन कुनै काम
 कामधाम नभएपछि, जुटला कसरी माम?
 
 पालन गरी स्वास्थ्य मापदण्ड घरैभित्र बसे
 भनुहुन्छ डाक्टरसाहेब, कोरोना जितिन्छ अरे
 घरैभित्र बसी रहे, कसरी जुटला गाँस ?
 गाँसबिना कतिन्जेल नै, टिक्ला हाम्रो सास ?
 
 ठुला, साना, धनी, गरिब भनेन यो रोगले
 बढाऔँ हैआत्मबल, नत्र मरिएला शोकले
 बाँडौँ मिली दुःखसुख, खाऔँ पोषिलो आहार
 जीवन रहे दिन आउला, नगरौं अहिले विहार ।
 
 चरम विकाससँगै, भित्रियो नि विनाश
 चेत अझै नखुलेमा, निम्त्याउँछ है सत्यानाश
 विचार, व्यवहार र कर्ममा, ल्याउन सके बदलाब
 जितिन्छ है कोरोनालाई, नगरौं कसैले विलाप ।