April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

भोलिवादी म

 मेरी सानी छोरी फरर परेको नयाँ जामा लगाएर नाच्दै भन्छे- 
 "ममी हेर्नुन म परी भए कि भइनँ ?" 
 म भन्छु, "दसैंलाई किन्देको नाना फोहोर भो, फुकाल झट्टै । " 
 छोरी नमिठो अनुहार लाएर मौनतामै भन्छे- 
 "मम्मी आउनु न मेरो खुसीमा खुसी मिलाएर नाँचौ एक पटक ।" 
 तर भोलिवादी म पटक्कै बुझ्दिनँ उसको मुहारको भाव 
 मलाई त बस भोलिलाई सुन्दर बनाउँनु छ ।
 "मम्मी म फर्स्ट भएँ ।" 
 चन्द्रमाको ज्योति मुहारमा धपक्क बालेर अगाडि उभिन्छ छोरो । 
 म भन्छु- "अर्को वर्ष पनि फर्स्ट भए बल्ल हेरौंला ।" 
  
 चुक घोप्टिएको चन्द्रमाझैँ उसको मौनताले भन्छ, 
 "म कहिल्यै मेहनत गरेर पढ्ने छैन अब ।" 
  
 "बधाई छ साथी!" 
 प्रज्वलित उसको मुहारबाट शब्दहरू निस्कन्छन् । 
 "सोचेको भन्दा तल्लो तहको यो सफलतामा बधाई नदेऊ साथी ।" 
 खिन्न मेरो साथी खै के सोंचेर जुरुक्क उठेर जान्छ। 
  
 नव विवाहिता जोडी मसक्क मस्किँदै हिँडेको देखेर म भन्छु मनमनै- 
 "हेरौँ कहिलेसम्म टिक्दोरहेछ यो मसक्कपन ।" 
  
 हैन कहिलेसम्म म यसरी भोलिवादी भैरहन सक्छु हँ ? 
  
 फरर परेको रातो जामामा उदाएकी छोरीसँग 
 फनफनी घुमेर नाँच्दिए कति रमाउँदी हो ऊ । 
 फर्स्ट भएको छोरोलाई भोलिको तनाब नदिए, 
 चन्द्रमाझैँ उसको मुहारमा कति धेरै उज्यालो छाउँदो हो । 
  
 खुसी साट्न आएको मेरो साथीलाई- 
 "अरे थ्याङ्क यु यार, 
 आऊ, आज खुसी मनाउँ हाम्रै शैलीमा"
 भन्दै, रमाउन सकेको भए 
 बिर्सन नसकिने क्षण पो बन्थ्यो कि त्यो समय ! 
 अनि मसक्क मस्किँदै हिँडेका नव- विवाहिता जोडी देखेर
 नयाँ, पुराना सबै जोडीमा यही मसक्कपनको कामना मनैबाट गर्न सक्ने भए ???? 
 साँच्चै जीवनले सार्थकता पाउने छैन र ? 
 अनि प्रत्येक सासको महत्त्व सिकाउँदै जम्काभेट गरेको यस घडीमा
 वर्तमानको महत्त्व झनै बुझ्न पर्ने होइन र ?? 
  
 आखिर किन बुझ्दिनँ म यो यथार्थ ????? 
  
 परिवर्तनको बाहक आँफै बन्नुको बिकल्प त जीवितै छ नि ! 
 त्यसैले, चिहाएर हेर्नुछ आफ्नै सोंचका जञ्जालहरुमा 
 र फाल्नुछ समाजका तुषहरु एक एक गरी
 वर्तमानमा रमेर बाँच्नका लागि
 किनकि अनिश्चित भोलिको पर्खाइ 
 मात्र अधुरो सपना बन्न सक्ने छ ।