March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

चौताराको बाघ (बालकविता)

 भाइले थाहा पाएछ
 बाघले बाख्रा खाएछ
 
 देख्यौ तिम्ले वनमा ?
 पारि सिम्ले वनमा
 कताबाट आएछ ?
 कति बेला खाएछ ?
 
 हैन त्यसो हैन रे !
 सिम्लेमा बाघ छैन रे !
 चौतारामा आएछ
 छानी-छानी खाएछ
 
 चौतारामा के आउँथ्यो ?
 बाख्रा वनमै पाउँथ्यो
 मौका छोप्न भ्याएछ
 झ्याप्प-झुप्प खाएछ
 
 बाघ जम्मा चारोटा
 बाख्राभन्दा क्यै मोटा
 खबर यस्तो ल्याएछ
 दुब्ला बाख्रा खाएछ
 
 छपनीमा बसेर
 ढुक्कै पन्था कसेर
 आफूले जुन चाहेछ
 मिलाई-मिलाई खाएछ
 
 बाबासँग सोधियो
 ढुङ्गो रै´छ बुझियो
 त्यस्सै गफ लाएछ
 बाघले बाख्रा खाएछ ।
 
 ××× ××× ××× ×××
 बाघ पनि ढुङ्गाकै
 बाख्रा पनि ढुङ्गाकै
 गएँ साथी गएँ म
 बल्ल ढुक्क भएँ म ।
 °°°°°
 २०७८/०१/१८
 भोर्लेटार, लमजुङ ।