February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

समय

एक टकले सधैँ-सधैँ,
 बिना कुनै पर्वाह,
 निरन्तर आफ्नै वेगमा,
 युगौँयुग बितिरहेछ
  
 बालकलाई तन्नेरी,
 तन्नेरीलाई बुढो बनाउँदै,
 नयाँलाई स्वागत,
 पुरानोलाई बिदा गरिरहेछ। 
  
 आफ्नै मादकमा मस्त,
 आजको उपहारसँगै,
 सुदूर भविष्यको खोजमा,
 आफ्ना पाइला लम्काइरहेछ। 
  
 खै,
 यसको महिमा म कसरी जानूँ ?
 केवल,
 घडीको सुई हो, भनी कसरी म मानूँ ?